मौवाफाँटमा महिला अधिकार सम्बन्धी अन्तरक्रिया सम्पन्न

  • १६ चैत्र २०७८, बुधबार
  • 785 पटक पढिएको

म्याग्दी १६ चैत । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा बुधवार महिला अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । रघुगंगा गाउँपालिकाको आयोजनामा भएको उक्त कार्यक्रममा संविधानमा व्यवस्था भएको महिलाको हक र व्यवहारिक कार्यान्वयनको अवस्थाबारे छलफल गरिएको थियो । कार्यक्रमको उद्घाटन गर्दै जिल्ला न्यायाधिस तेजनारायण पौडेलले संविधानमा महिलाका हक हित र अधिकारको व्यवस्थाबारे प्रशिक्षण दिनुभएको थियो । उहाँले अदालतले मौलिक हकको कार्यान्वयन गराउने बताउँदै महिलाको सम्पती, सहभागीता र सशसक्तिकरणको अधिकारको वकालत गर्नुपर्नेमा जोड दिनुभयो । १३० जनाको सहभागीता रहेको कार्यक्रममा म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठले समेत महिलाहरुको सशक्तिकरणको बिषयमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीका सल्लाहकार केवी भण्डारीले नेपालमा महिलाहरुको अधिकार सुरक्षित भएकै कारण मुलुकको राष्ट्रपति, सभामुख, प्रधानन्यायाधिस लगायतका उच्च ओहोदामा महिलाहरु पुग्न सम्भव भएको बताउनुभयो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले गाउँपालिकाले सञ्चालन गर्ने विकास निर्माण योजनाको उपभोक्ता समितिहरुमा महिलाहरुको प्रतिनिधित्व बढाउनका लागि महिलाहरु समेत अग्रसर बन्नुपर्ने बताउँदै महिलाहरुलाई उद्यमशिलतातर्फ जोड्न गाउँपालिका प्रयासरत रहेको बताउनुभयो ।

गाउँपालिका अध्यक्ष भण्डारीले महिलाहरुलाई घरबाटै सशक्तिकरण जरुरी रहेको बताउँदै गाउँपालिकाले छोरीहरुका लागि पेवा कार्यक्रम अघि बढाएको जानकारी दिनुभयो । अध्यक्ष भण्डारीको अध्यक्षता, उपाध्यक्ष कमला तिलिजाको स्वागत र महिला विकास शाखा प्रमुख सावित्रा सुवेदीको सञ्चालनमा सम्पन्न कार्यक्रममा शिब शक्ति महिला विकास बहुउदेश्यीय सहकारी संस्थाका सेविता पुन, कार्यपालिका सदस्य सम्झना परियार लगायतले मन्तव्य राख्नुभएको थियो ।