मालिका–४ मा माओवादीबाट रेशम पुन वडा अध्यक्षका उमेद्वार

  • १५ चैत्र २०७८, मंगलवार
  • 1084 पटक पढिएको

बेनी, १५ चैत । नेकपा माओवादी केन्द्रले म्याग्दीको मालिका गाउँपालिका–४ मा रेशम पुनलाई आसन्न स्थानीय तहको चुनावका लागि वडा अध्यक्षको उमेद्वार बनाउने भएको छ । माओवादी केन्द्रको सोमबार बसेको वडा कमिटिको बैठकले च्युरीबोट निवासी पुनलाई वडा अध्यक्षको उमेद्वार बनाउने सर्वसम्मत निर्णय गरेको हो ।

माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जालीको उपस्थितिमा बसेको बैठकले वडाका सबै भूगोललाई समेटेर वडा सदस्यका उमेद्वार चयन गरेर तयारी र प्रचारप्रसारलाई आक्रामक रुपमा अघि बढाउने निर्णय गरेको छ । वडामा आफ्ना पार्टी र बाहलवाला जनप्रतिनिधीको पहलमा भएका उपलब्धी, गर्न बाँकी काम, स्थानीय आवश्यकता, समस्या पहिचान गरि भावी योजना सहित जनघेटघाट अभियानलाई तिब्र बनाउने वडा कमिटिले निर्णय गरेको छ ।

वडा अध्यक्षका उमेद्वार चयन भएका पुनसँग लघुजलविद्युत परियोजना, सडक निर्माण, विद्यालय व्यवस्थापन समिति लगायत संघ संस्थामा रहेर काम गरेको अनुभव छ । उहाँ माओवादी आन्दोलनको शुरुदेखिनै राजनीतिमा सक्रीय हुनुहुन्छ । वि.स. २०७४ को स्थानीय तह निर्वाचनमा मालिका–४ मा माओवादीले जितेको थियो । गत चुनावमा आफूले जितेका ७ वटा वडालाई बचाउदै थप वडा र पालिका जित्ने लक्ष्य सहित माओवादीले म्याग्दीमा चुनावी अभियानलाई तिब्र पारेको छ ।