बेनी अस्पतालको सेवा प्रभावित हुन नदिन सचेत छौ– अध्यक्ष सुवेदी

  • २ चैत्र २०७८, बुधबार
  • 1191 पटक पढिएको

म्याग्दी, २ चैत । बेनी अस्पतालले प्रवाह गर्ने सेवा प्रभावित हुन नदिनका साथै चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षामा प्रतिवद्ध रहेको ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताउनुभएको छ । पछिल्लो समय बेनी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी र व्यवस्थापन समितिबीच बिवाद बढेको र त्यसको असर सेवा प्रवाहमा परेको भन्ने विषयमा राखिएको जिज्ञाशाप्रति अध्यक्ष सुवेदीले यस्तो प्रतिक्रिया जनाउनु भएको हो ।

“गत शुक्रबार अस्पतालमा उपचाररत पर्वत मल्लाजका एक जना बिरामीको निधन भएको बिषयमा हामी पनि दुखित छौ । त्यस बिषयमा सम्बन्धित परिवार र अस्पताल बिच समिक्षा तथा सहमति भैसकेको हो,” उहाँले भन्नुभयो “त्यही घटनालाई जोडेर बेनी अस्पताल, चिकित्सक र व्यवस्थापन समितिका बिषयमा फैलाइएका भ्रमको पछि नलाग्न अनुरोध गर्दै नियमित रुपमा सेवा प्रवाह भैरहेको जानकारी गराउदछु ।”

बिरामीको मृत्युपछि अस्पतालको प्रतिक्षालयमा छलफलका क्रममा ब्यवस्थापन समितिका सदस्य विज्ञान शर्माले बेनी अस्पतालका प्रमुख चिकित्सक जितेन्द्र कडेललाई मानमर्दन हुनेगरी अभिव्यक्ति दिएको बिषयमा चिकित्सकहरुले प्रशासन र जिल्ला प्रहरी कार्यालयमा निवेदन दिनुभएको थियो ।

ब्यवस्थापन समिति र चिकित्सक तथा स्वास्थ्यकर्मीहरुबीच भएको छलफलमा सदस्य शर्माले गल्ती स्विकार र आत्मआलोचना गर्दै सामाजिक सञ्जाल फेसबुकमा राखेको स्टाटस हटाउनुभएको थियो । उजुरी परेपछि सोधपुछ र अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएका शर्मालाई छलफल पछि प्रहरीले डाक्टर कडेल र सदस्य शर्माको व्यक्तिगत बिवादको बिषय भएकाले आपसी समझदारीमा टुङ्गाउन सुझाएका थिए ।

चिकित्सक र स्वास्थ्यकर्मीहरु पछिल्लो समय शर्मालाई सदस्यबाट हटाउनुपर्ने माग राखेका छन् । व्यवस्थापन समितिलाई राजनीतिक नियुक्ती भएका सदस्यलाई हटाउने अधिकार छैन् । “हामी ब्यवहारिक दंगले समस्याको समाधान गर्न जिम्मेवार हिसाबले प्रयासरत छौ,” सुवेदीले भन्नुभयो “सेवामा असर पर्न दिइएको छैन् । समस्या बढाउने भन्दा पनि समाधान गर्नेतर्फ सबैको सकारात्मक भूमिका आवश्यक छ ।”