घनश्याम परियारको नेतृत्वमा रघुगंगामा दलित मुक्ति मोर्चा गठन

  • २१ फाल्गुन २०७८, शनिबार
  • 822 पटक पढिएको

म्याग्दी, २१ फागुन । रघुगंगा गाउँपालिकामा नेकपा माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चा गठन गरिएको छ । शनिबार रघुगंगा गाउँपालिकाको वडानम्वर ३ मालिकामा मोर्चाको प्रथम भेलाले घनश्याम परियारको नेतृत्वमा ४१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।


मोर्चाको उपाध्यक्षमा विरबहादुर बसेल, उर्मिला परियार, राजु परियार, सचिवमा रिया विक, कोषाध्यक्षमा रमेश दर्जी, सह–सचिवमा विना परियार रहेको ४१ सदस्यीय कार्यसमिति चयन गरिएको मोर्चाका जिल्ला संयोजक पृथीलाल विकले जानकारी दिुनभयो ।


मोर्चाको भेलालाई सम्वोधन गर्दै नेकपा माओवादी केन्द्र नेता एवम् नेपाल दलित मुक्ति मोर्चा गण्डकी प्रदेशका इन्चार्ज टेकबहादुर विकले माओवादीकै जनयुद्धको कारण दलितहरुको हक हित र अधिकार संविधानमा सुनिश्चित भएकोे बताउनुभयो । उहाँले दलित, महिला, जनजाति, अल्पसंख्यक, पछाडी परेका समुदायको उत्थान र सशक्तिकरणमा माओवादीले जति योगदान कुनैपनि दलले नगरेको बताउदै सशक्त रुपमा हरेक तहको नेतृत्वमा पुग्ने गरी क्षमता विकास गर्न उपस्थितलाई आग्रह गर्नुभयो । दलितहरुमा रैथाने सिप छ, यसलाई समाजमा सम्मान गर्ने पेशाको रुपमा चिनाउन दलितहरु एकताबद्ध भएर लाग्न आग्रह गर्नुभयो ।

भेलामा गण्डकी प्रदेशका सांसद विनोद केसीले माओवादी आन्दोलनका कारण संघीयता लागू भएर हरेक तहको नेतृत्वमा दलितलाई सहभागि गराउने ब्यवस्था लागु गरेको बताउनुभयो । उहाँले स्थानीय तहमा माओवादीकै नेतृत्व स्थापित गराउन नेता तथा कार्यकर्ताहरुलाई आगामी बैशाख ३० हुने निर्वाचनलाई ध्यानमा राखेर सक्रियता बढाउन निर्देशन समेत दिनुभयो ।


भेलामा नेकपा माओवादी केन्द्र रघुगंगा गाउँपालिका इन्चार्ज रिमबहादुर कटुवाल, गाउँपालिका अध्यक्ष हरि भण्डारी, नेता पदम किसान, तोरण परियार, मोर्चाका जिल्ला संयोजक विक लगायतले मन्तव्य राख्नुभएको थियो । तीनसय जना सहभागिता रहेको कार्यक्रमको अध्यक्षता घनश्याम परियार र संचालन गोकर्ण परियारले गर्नुभएको थियो ।