मालढुङ्गा – बेनी सडकको निर्माण कार्य धमाधम

  • १९ फाल्गुन २०७८, बिहीबार
  • 846 पटक पढिएको

म्याग्दी, १९ फागुन । म्याग्दी र मुस्ताङसंगै चिनको कोरला नाकासंग जोडिने राष्ट्रिय गौरबको कालिगण्डकी कोरिडोर सडक आयोजना अन्तर्गतको मालढुङ्गा–बेनी सडक खण्डको १३ किलोमिटर सडक स्तरोन्नति गर्ने काम धमाधम भएको छ । गत चैतमा ठैक्का सम्झौता गरेर काम अघि बढेको आयोजनामा निर्माण कम्पनीले कटिङ, रिटेनिङ वाल र कल्भर्ट निर्माण कामलाई तिव्रता दिएको छ ।

गत २०७७ चैतमा ५२ करोड ८६ लाखमा ३१ हजार दुईसय ८१ रुपियाँमा ठेक्का सम्झौता गरेको एपेक्स–खड्का–कृष्ण जेभीको सहायक ठेकेदार ओमकारेश्वर कन्ट्रक्सनले गत साउन देखि सडक निर्माण थालेको हो । तिस महिनामा सम्पन्न गर्ने गरी आयोजनाले निर्माण व्यवसायीसँग ठेक्का सम्झौता गरेको थियो । सम्झौता लगत्तै निर्माण व्यवसायी कार्यस्थलमा परिचालन भएको हो । प्रत्येक दिन विहान ७ बजे देखि बेलुका ९ बजेसम्म एकसय पचास जना मजदुरहरु सडक बनाउने काममा परिचालीत भएका छन् । ठाउँठाउँमा उपकरण प्रयोग गरेर सडक विस्तार गर्ने काम गरिएको छ ।

पर्वतको मालढुङ्गा देखि ८ किलोमिटर सम्मको खण्डमा मजदुर र उपकरण परिचाल गरेर काम गरिरहेको बेनी जोमसोम कोरोला सडक आयोजनाका इन्जिनियर मन्दा पन्तले जानकारी दिए । उनले ५ किलोमिटर सम्मको खण्डको स्टक्चरको काम करिब सकिएको छ । सडक चक्ला बनाउने,नाली निर्माण र सडकको दुवैतर्फ रिट्रेनिङ वाल लगाउने काम सकिएको बताए ।

कटिङ, रिटेनिङ वाल र कल्भर्ट निर्माण कामलाई तिव्रता दिएको निर्माण व्यवसायीको अहिलेको कामको गतिलाई हेर्दा सम्झौता समयअवधि भित्र सडक स्तरोन्नति सहित कालोपत्रे योजना सम्पन्न हुने उनले विश्वास गरे । राष्ट्रिय गौरबको सडक भएकाले आयोजना कार्यालयले पनि निरन्तर ताकेता र साइडको अनुगमनलाई प्राथमिकतामा राखेको कालीगण्डकी कोरीडोर ( बेनी–जोमसोम–कोरला सडक ) का योजना प्रमुख जगत प्रजापतिले बताए ।

आगमी २०७९ को चैत सम्म मसान्त सम्म योजना सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ । सडक स्तरोन्नति गरेर दुई लेनको सडक बनाउन लागिएको हो । मालढुङ देखि बेनीसम्म १३ किलोमिटर सडक जिर्ण हुँदा सर्वसाधरणहरुले सास्ती भोग्दै आएका थिए । गत वर्ष यो सडकलाई बेनी जोमसोम कोरोला सडक योजना अन्तर्गत राखेर निर्माण गर्ने निर्णय भएपछि ठेक्का भई काम अगाडि बढेको हो ।

हाल ६ मिटरको हाराहारीमा रहेको सडकलाई ९ मिटर चाक्लो बनाएर एक मिटरको नाली र दुई लेनमा ८ मिटर चौडाइका दरले अमेरिकी आक्सपाल्ट प्रविधिको कालोपत्रे गरिने आयोजनाले जनाएको छ । २०४८ ‘कामका लागि खाद्यान्न’ कार्यक्रम अन्तरगत शुरु गरेर २०५२ मा मार्ग खुलेको र २०६८ मा कालोपत्रे भएको मालढुङ्गा–बेनी सडक पछिल्लो समय जिर्ण अवस्थामा थियो । सडक जिर्ण हुँदा मुस्ताङ र म्याग्दीको भ्रमणमा आउने पर्यटकले सास्ती भोग्नु्परेको थियो ।