दुई बृहत खानेपानी आयोजना सञ्चालनको तयारी
- ११ फाल्गुन २०७८, बुधबार
- 1353 पटक पढिएको
बेनी, ११ फागुन । म्याग्दीमा दुई ठुला खानेपानी आयोजना सञ्चालनको लागि तयारी थालिएको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीले जिल्लाको रघुगंगा गाउँपालिका र बेनी नगरपालिका क्षेत्रमा दुई वटा बृहत खानेपानी आयोजना सञ्चालनको तयारी गरेको हो । रघुगंगा गाउँपालिकाको वडा नम्बर २ र ३ मा बृहत भगवती, पिप्ले खानेपानी आयोजना र बेनी नगरपालिका– ५, ६, ९, १० नम्बर वडाका विभिन्न बस्ती, रघुगंगा गाउँपालिका–६ पाखापानी र वडानम्बर ५ झिँलाई लक्षित गरि बृहत घोप्टेखोला खानेपानी आयोजनाको निर्माण गर्न लागिएको हो ।
दुबै आयोजनाको डिजाइनको काम सकिएको र विभागबाट स्विकृत गराएर ठेक्का प्रकृयामा लैजाने तयारी गरिएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीका इन्जिनियर प्रदिप रेग्मीले जानकारी दिनुभयो । दुबै आयोजनालाई ठेक्का सम्झौता भएको दुई बर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ । दुबै योजनाको सर्वेको काम सकेर लागत स्टिमेट तयार गरि विभागमा पठाईएको र स्विकृत भएर आएपछि आबश्यक प्रकृया अगाडी बढाइने कार्यालय प्रमुख कुलप्रसाद पौडेलले बताउनुभयो । उहाँका अनुसार, उक्त आयोजनाहरुमा कुल लागतमध्ये ९० प्रतिशत संघीय सरकारको लगानी र १० प्रतिशत उपभोक्ताको जनश्रमदान बराबरको रकम लगानी गर्नुपर्नेछ ।
ठुलो आयोजना भएकाले उपभोक्ताले नगद लगानी गर्न सक्ने अवस्था नदेखिएपछि १० प्रतिशत श्रमदान बापतको रकम नगद नै जम्मा गर्नुपर्ने भएकाले उक्त रकमको सुनिश्चिता स्थानीय तहमार्फत गराउन पहल समेत सुरु गरिएको आयोजनाले जनाएको छ । घोप्टेखोलाबाट २ हजार ६५८ र भगवती पिप्ले खानेपानी आयोजनाबाट २ हजार ४१६ घरधुरी लाभान्वित हुने इन्जिनियर रेग्मीले बताउनुभयो । रघुगंगा गाउँपालिका–७ चिमखोला भएर बग्ने बगरखोलाको मुहान मानिने खालीखोलाबाट भगवती र पिप्लेको शिर रुइसेडाँडामा रहने मुख्य ट्यांकीसम्म पानी ल्याउन ३० किलोमिटर लामो मुख्य पाइपलाईन रहने प्रस्ताब गरिएको छ । यो आयोजना निर्माणका लागि रु ३७ करोड ३७ लाख लागत अनुमान गरिएको छ ।
रघुगंगा–६ पाखापानीको करेन्टखोलाको मुहानबाट पाइपलाईन मार्फत ल्याइएको पानीलाई पाखापानीकै शिरमा रहने ट्यांकीबाट वितरण पाईप मार्फत पाखापानी र त्यहाँबाट झिँ, पात्लेखेत, घतान, पुलाचौर हुँदै अर्थुङ्गे क्षेत्रसम्म खानेपानी सुविधा विस्तार गर्ने योजना रहेको छ । यो योजना सम्पन्न गर्न रु ३८ करोड लागत अनुमान गरिएको छ । कार्यालय मार्फत यस बर्ष बेनी बजार खानेपानी गुणस्तर सुधारको लागि रु १ करोड २५ लाख बजेटबाट बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको फिल्टर ट्यांकी निर्माण सुरु भएको छ । त्यसैगरि बेनी बजारमा बर्खायाममा हुने खानेपानीको पाईपलाईनमा बाढी पहिरोको अबरोधका कारण निम्तने खानेपानीको हाहाकारको समस्या हटाउन बैकल्पिक पानीको व्यवस्थापनका लागि म्याग्दी खोलाबाट पम्पिङको लागि समेत रु ४० लाख बजेट विनियोजन भएको छ ।
चालु आर्थिक बर्षमै भुरुङ, दाना गाडपार, घोडेपानी खिवाङ, दरबाङ, राखु भगवती सुधार विस्तार र ज्यामरुकोट ठुलो खोला राताभिर खानेपानीको समेत सर्वेको चरणमा रहेको छ । यस कार्यालय मार्फत अन्नपूर्ण गाउँपालिका–६ घार वृहत खानेपानीका लागि रु ३० लाख बजेट र वडा नम्बर १ दोबामा १५ लाख बजेटबाट खानेपानी आयोजनाको काम भैरहेको छ ।