पोखरेबगरमा सामाजिक कुरिती तथा लागु औषध दुव्र्यसन सम्बन्धी अभिमुखीकरण (तस्वीर)

  • १० फाल्गुन २०७८, मंगलवार
  • 754 पटक पढिएको

म्याग्दी १० फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पाेखरेबगरमा मंगलवार सामाजिक कुरिती तथा लागु औषध दुव्र्यसन सम्बन्धी अभिमुखीकरण कार्यक्रम तथा तालिम सम्पन्न भएको छ । म्याग्दी जेसीजको आयोजनामा सामाजिक विकास कार्यालय र अन्नपूर्ण गाउँपालिकाको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

म्याग्दी जेसीजका शाखा अध्यक्ष सन्दिप खत्रीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले सामाजिक कुरिती र लागु औषध दुव्र्यसन अन्यूनिकरणका लागि सामाजिक जागरण जरुरी रहेकोमा जोड दिनुभयो । कार्यक्रममा म्याग्दी जेसीजका पूर्व अध्यक्ष एवम नेपाल जेसीजका निवर्तमान राष्ट्रिय उपाध्यक्ष सुजन बरुवालले युवाहरुको नेतृत्व र व्यक्तित्व विकास संगै सामाजिक रुपान्तरणको लागि जेसीजले विभिन्न गतिविधि गर्दै आएको बताउनुभयो ।


कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक विरेन्द्र गुरुङले आगुऔषध र्दुव्यसन र बालविबाहको अवस्था, सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापा मगरले सामाजिक कुरिती न्यूनिकरणमा सरोकारवालाको भूमिकाबारे सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरण शर्मा पौडेलले कार्यालयले सामाजिक क्षेत्रमा गरेका गतिविधिहरुको बारेमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा वडाका जनप्रतिनिधि, युवा क्लब, आमा समूह र बालक्लबका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । म्याग्दी जेसीजका कोषाध्यक्ष सुमन बानियाँले आस्थापाठ गर्नुभएको कार्यक्रमको सञ्चालन उपाध्यक्ष कृष्ण प्रसाद पौडेलले गर्नुभएको थियो । जेसीजका गतिविधिलाई गाउँकेन्द्री गर्नका लागि तालिम, पर्यटन प्रवद्र्धन, स्वास्थ्य र सरसफाईका सामाग्री वितरण लगायतका गतिविधि सञ्चालन गरिएको म्याग्दी जेसीजका शाखा अध्यक्ष खत्रीले जानकारी दिनुभयो ।