म्याग्दी उद्योग बाणिज्य संघको ‘सहयोग रसिदका नाममा शुल्क असुली’ रोक्न छानविन सुरु

  • ९ फाल्गुन २०७८, सोमबार
  • धिरन खत्री
  • 1700 पटक पढिएको

म्याग्दी, ९ फागुन । म्याग्दी उद्योग वाणिज्य संघले संस्थागत विकासका लागि सहयोग रसिदको नाममा अवैध रुपमा उठाउँदै आएको शुल्क असुली रोक्न प्रशासनले चासो देखाएको छ । पर्वतबेनी हुँदै म्याग्दी सदरमुकाम बेनी प्रवेश गर्ने व्यवसायिका सामान बोक्ने सवारी साधनबाट संघले बर्षौदेखि गैरकानुनी रुपमा सहयोग रसिदका नाममा शुल्क असुली गर्ने गरेको गुनासोको आधारमा आबश्यक छानविन प्रकृया अघि बढाईएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


संघले आफ्नो भवन निर्माणमा लागेको ऋण चुक्ता र कार्यालय सञ्चालन खर्च जुटाउने प्रयोजनका लागि कालिपुलमा दुई जना कर्मचारी नै खटाएर सामान बोक्ने ट्रक र सवारी साधनबाट सम्बन्धित व्यवसायिबाट असुल उपर हुने गरि ‘अबैध रुपमा शुल्क असुली’ गर्दै आएको थियो । कर्मचारी नै खटाएर सहयोगका नाममा शुल्क उठाउने काम गैरकानुनी भएकाले शुल्क उठाउने व्यक्तिहरु मार्फत छानविन अघि बढाईएको प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि रानाले बताउनुभयो । ‘‘नगरपालिका र प्रशासन कतैबाट पनि संघलाई शुल्क उठाउने अनुमति भएको देखिदैन, सहयोग रसिद लिएर शुल्क उठाएको सम्बन्धमा संघलाई स्पष्टीकरणको लागि पत्र पठाएको छ, आबश्यक छानविन गरि उक्त कार्यलाई रोक्नतर्फ हाम्रो गम्भिर ध्यानकर्षण भएको छ”–प्रजिअ रानाले भन्नुभयो ।

हेलो सरकारको निर्देशन र विभिन्न ब्यवसायीबाट जिल्ला प्रशासन कार्यालयमा परेको उजुरीको आधारमा शुल्क उठाउन खटिएका संघका दुई जना कर्मचारीलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा नै लिएर छानविन सुरु गरेको छ । आइतवार शुल्क उठाउन खटिने दुई जना कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएर आबश्यक सोधपुछ गरि आबश्यक परेको खण्डमा पुनः उपस्थित हुने गरि छाडिएइको प्रहरी नायव निरिक्षक श्यामकुमार राईले जानकारी दिनुभयो । ‘‘उनीहरुबाट शुल्क उठाउन प्रयोग गरिँदै आइएको सहयोग रसिदहरु नियन्त्रण लिएका छौ, कानुनी प्रक्रियाअनुसार अनुसन्धान भईरहेको छ’’–प्रनाउ राईले भन्नुभयो ।

बाध्यतात्मक अवस्था सिर्जना गरि शुल्क उठाउने संघ विरुद्ध बाहिरबाट सामान लिएर आउने ब्यवसायीहरु र बजारका ब्यवसायीहरुबाट समेत गुनासोसहित हेलो सरकारमा उजुरी परेको थियो । उजुरीको आधार प्रहरीलाई पक्राउ गर्न प्रशासनले निर्देशन दिएको थियो ।
संघले बेनीका हार्डवेयर, फेन्सी, किराना लगायतका व्यापार व्यवसाय गर्नेहरुबाट जिल्लामा सामान ल्याउँदा रु १ सय देखि ५ सयसम्म सहयोग रसिदका नामा शुल्क उठाउँदै आएको प्रारम्भीक अनुसंधानबाट खुलेको प्रहरीले जनाएको छ ।

उक्त कार्यलाई संघले स्वच्छिक सहयोग भनेर प्रष्टिकरण दिएपनि व्यवसायिहरुले भने बाध्यात्मक कारण मानेका छन् । आफुहरुबाट उठाएको शुल्कबाट ब्यवसायीको हकहितमा कुनै पनि खर्च र सहयोग नहुने र रसिद थमाएर शुल्क अशुल्ने गरेको एक हार्डवेयर सञ्चालकले गुनासो गर्नुभयो । संघबाट झलक खत्रीका दम्पतीले बिगत करिब १६ बर्षदेखि उक्त शुल्क उठाउने काम गर्दै आएका छन् । सो उठेको रकमबाट कार्यालय संचालन, ब्यवसायीको समस्यामा संस्थागत सहयोग लगायतमा खर्चिदै आएको संघले जनाएको छ । स्पष्टीकरणको लागि प्रशासनबाट म्याग्दी उद्योग वाणिज्य संघको कार्यालयमा पत्र आएको स्विकार गरेपनि संघका अध्यक्ष बेलबहादुर कटुवालले यस बिषयमा थप प्रतिकृया दिनबाट पन्छनुभयो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l