सामाजिक विकास कार्यालयद्धारा प्रहरी कार्यालयको दलित डेक्सलाई फर्निचर सहयोग

  • ८ फाल्गुन २०७८, आईतवार
  • 1075 पटक पढिएको

म्याग्दी ८ फागुन । अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवसको अवसरमा सामाजिक विकास कार्यालय म्याग्दीले जिल्ला प्रहरी कार्यालयको दलित डेक्सलाई फर्निचर सहयोग गरेको छ । प्रहरी कार्यालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक इकाईमा स्थापना गरिएको दलित डेक्स सञ्चालनका लागि सामाजिक विकास कार्यालयले एक /एक थान टेबुल, कुर्चि र दराज सहयोग गरेको हो ।

 

सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापा र लेखापाल त्रिविक्रम शर्मा लगायतले प्रहरी नायब उपरिक्षक श्यामकुमार राईलाई उक्त सामाग्री र सामाग्रीको विवरण हस्तान्तरण गर्नुभएको थियो । मान्छे मान्छेमा विभेद देख्न हुँदैन भन्ने धारणा सहित सामाजिक न्यायको अवधारणा अगाडी आएकाले दिवसका अवसरमा प्रहरी कार्यालयमा स्थापना भएको दलित डेक्सलाई फर्निचर सामाग्री सहयोग गरिएको कार्यालय प्रमुख थापाले बताउनुभयो । उहाँका अनुसार, डेक्सलाई रु ३५ हजार बराबरको सामाग्री उपलब्ध गराईएको छ ।


हालैमात्रै सञ्चालनमा ल्याईएको दलित डेक्सलाई थप व्यवस्थित रुपमा सञ्चालन गर्न प्राप्त भएका फर्निचर लगायतका सामाग्रीले रचनात्मक सहयोग पुग्ने प्रनाउ राईले बताउनुभयो । उहाँले उक्त डेक्स मार्फत दलित समुदायबाट सेवा लिन आउने सेवाग्राहीलाई सहजीकरण र घटना विवरण अभिलेखिकरण लगायतका कामहरु हुने बताउनुभयो । सन २००७ को २६ नोभेम्बरमा बसेको राष्ट्रसंघको महासभाले गरेको निर्णय बमोजिम हरेक फेब्रुअरी २० मा अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवस मनाउने गरिन्छ ।