निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनिय बनाउन सुधारको खाँचो

  • ६ फाल्गुन २०७८, शुक्रबार
  • धिरन खत्री
  • 1454 पटक पढिएको

 

म्याग्दी, ६ फागुन । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनिय बनाउन निर्वाचनका नीति नियमलाई सुधार गर्न माग गरेका छन् । जिल्ला निर्वाचन कार्यालय म्याग्दीले शुक्रबार आयोजना गरेको “निर्वाचन संचालन तथा ब्यवस्थापनमा सरोकारवालाहरुको भूमिका’’ विषयक अन्तरक्रियामा बोल्ने बक्ताहरुले नागरिकले शान्तिपूर्ण वातावरणमा मतदान गर्ने अधिकार र निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित जनतामाझँ बनाउन कानून र विधि सुधारको खाँचो रहेको सुझाव राखेका हुन् ।


“निर्वाचनमाः सबै, सँधै, संँगै” भन्ने मुल नाराका सांथ छैठौ निर्वाचन दिवस २०७८ को उपलक्ष्यमा आयोजित अन्तरक्रिया कार्यक्रममा विदेशमा रहेका नेपालीलाई मतदान गर्ने वातावरण आयोगले बनाउनुपर्ने सुझाव राखेका थिए । निर्वाचनलाई मतदाताहरुले सुरक्षित रुपमा प्रविधि प्रयोगबाट गोप्य मतदान गर्ने अधिकारलाई प्रयोगमा ल्याउने वातावरण निर्माणमा निर्वाचन आयोग लाग्नुपर्ने सुझाव राजनीतिक दलहरुले राखेका थिए ।


प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाको अध्यक्षतामा भएको अन्तरक्रियामा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष तुल्याउन निर्वाचन कार्यालय, राजनीतिक दलसंगै सबै सरोकारवाहरु जिम्मेवार बन्नुपर्ने बताउनुभयो । निर्वाचन सम्वन्धी उठेका गुनासोलाई सहजीकरण गरेर राम्रा सुझावलाई कार्यान्वयनमा निर्वाचन कार्यालयले ध्यान दिनुपर्ने सुझाव राख्नुभयो ।

कार्यक्रममा जिल्ला न्याधिश तेजनारायण पौडेलले सरोकारवालाहरुबाट प्राप्त सुझाव नै आगामी निर्वाचनलाई जनतामाँझ स्वच्छ र विश्वसनिय तुल्याउन सहयोग पुग्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी रानाले निर्वाचनलाई प्रविधिमैत्री बनाउन नेतृत्ववर्गले चाहनुपर्ने धारणा राख्नुभयो। जिल्ला निर्वाचन कार्यालय प्रमुख भिमप्रसाद घिमिरेले सरोकारवालाहरुको सुझावलाई कार्यान्वयनका लागि निर्वाचन आयोगमा पठाउने बताउनुभयो । जिल्लामा करिव ९० हजार मतदाताको संख्या देखिएको छ, मतदाताको नावाली रुजु गरेर आयोगले पठाएमा मतदाता संख्या फेरबदल हुने बताउनुभयो ।

निर्वाचन कार्यालयले आयोजना गरेका अन्तरक्रिया कार्यक्रममा राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि र सुरक्षा निकायका प्रमुख, कर्मचारी, संघसंस्थाका प्रतिनिधि र पत्रकारहरुको उपस्थित रहेको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l