राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि म्याग्दीका ३५ विद्यालय छनौट

रु ६ करोड ३१ लाख बजेट स्वीकृत

  • ६ फाल्गुन २०७८, शुक्रबार
  • 1052 पटक पढिएको

बेनी, ६ फागुन । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत यो वर्ष म्याग्दीका ३५ विद्यालय छनोटमा परेका छन् । उक्त कार्यक्रमअन्तर्गग म्याग्दीमा छनोटमा परेका ती विद्यालयका लागि रु ६ करोड ३१ लाख बजेट स्वीकृत भएको शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीका प्रमुख दलबहादुर थापामगरले जानकारी दिनुभयो ।


बेनी नगरपालिकामा छनौटमा परेका १० विद्यालयमध्ये दुई वटा चारकोठे , पाँच वटा दुईकोठे भवन निर्माणका लागि र ३ विद्यालय आइसिटी कार्यक्रमका लागि छनौट भएका छन् । त्यसैगरि उक्त कार्यक्रम अन्तर्गत छ वटा विद्यालय छनौटमा परेको धवलागिरि गाउँपालिकामा चारकोठे, दुईकोठे भवन र आइसिटी कार्यक्रमका लागि दुई÷दुई वटा विद्यालय छानिएका छन् ।

मालिका गाउँपालिकामा चारकोठे र दुईकोठे भवनका लागि एक÷एक वटा विद्यालय र आइसिटीका लागि चार गरि ६ वटा विद्यालय छनौट भएका छन् । रघुगंगा गाउँपालिकामा दुई वटा दुईकोठे भवन र एक वटा चारकोठे भवन निर्माणका लागि र दुई वटा विद्यालय आइसिटीका लागि गरि पाँच विद्यालय छनौट भएका छन् । अन्नपूर्ण गाउँपालिकामा चारकोठे र दुईकोठे भवनका लागि एक÷एक विद्यालय र आइसिटीका लागि दुई गरि कुल चार वटा विद्यालय छनौट भएका छन् । मंगला गाउँपालिकामा चारकोठे भवनका लागि दुई वटा, दुईकोठे भवनका लागि एक वटा र आइसिटी स्थापनाका लागि एक वटा गरि चार वटा विद्यालय छानिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

म्याग्दीमा ९ विद्यालयमा चारकोठे विद्यालय भवन निर्माणका लागि रु ३६ लाखका दरले, १२ वटा विद्यालयमा दुईकोठे भवन निर्माणका लागि रु १८ लाखका दरले र १४ वटा विद्यालयमा आइसिटी कार्यक्रमका लागि रु ६ लाख ५० हजारका दरले बजेट स्वीकृत भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेट स्थानीय तहमार्फत कार्यान्वयन गरिनेछ । बजेट संघ सरकारले पठाउने र स्थानीय तहले कार्यान्वयन गर्ने भएकाले अनुगमनको समन्वय मात्रै शिक्षा विकास तथा समन्वय इकाइले गर्नेछ । यस कार्यक्रम अन्तर्गत गत बर्ष म्याग्दीमा रु ४ करोड मात्रै बजेट आएकोमा यस बर्ष बजेट बढेर आएको इकाइले जनाएको छ । भवन निर्माणमासंघ सरकारले पठाएको उक्त बजेट न्यून भएकाले विद्यालयहरुलाई आन्तरिक स्रोत व्यवस्थापनमा सकस पर्ने देखिएको छ ।