ट्राफिक व्यवस्थापनको निर्णय गर्ने जिम्मा नगरपालिकाको होइनः प्रनाउ राई (भिडियो सहित)

  • ५ फाल्गुन २०७८, बिहीबार
  • 977 पटक पढिएको

बेनी, ५ फागुन । म्याग्दीको सदरमुकाम बेनी बजारभित्रको सडकमा सुरु गरिएको एकतर्फी यातायात सञ्चालनको निर्णयलाई उल्ट्याउने गरि बेनी नगरपालिका अघि बढेपछि नगरपालिका, म्याग्दी उद्योग बाणिज्य संघ र प्रहरी प्रशासनबिच मनमुटाब बढेको छ । न्यूरोड क्षेत्रका व्यवसायि र म्याग्दी उद्योग बाणिज्य संघको दबाबमा नगरपालिकाले एकतर्फी यातायातको प्रवन्ध हटाएर दुईतर्फी यातायात सञ्चालन गर्ने आसय सहितको निर्णय गरेपछि प्रहरीको क्षेत्राधिकारमाथि हस्तक्षप भएको प्रहरीबाट प्रतिकृया आएको छ ।

 

 

म्याग्दीअनलाइनसंग कुराकानी गर्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी नाबय उपरिक्षक श्यामकुमार राईले नगरपालिका र यहाँका सरोकारवालाहरुकै राय, सल्लाह बमोजिम सुरु भएको एकतर्फी यातायात सञ्चालन स्थगीत नभएको बताउनुभयो । अपराध अनुसंधान र ट्राफिक व्यवस्थापनको निर्णय गर्ने बिषय नगरपालिकाको नभएको बताउँदै उहाँले एकतर्फी यातायात सुचारु भएदेखि बजारमा दुर्घटना र ट्राफिक जाम न्यूनिकरण भएको बताउँदै यसलाई थप व्यवस्थित र सुदृढ गरि लैजानुपर्ने बताउनुभयो ।


‘‘बजार व्यवस्थापनको बिषयमा नगरपालिकाले सरोकारवालासंग छलफल गर्नु उचित हो, ट्राफिक व्यवस्थापनपनि बजार व्यवस्थापनकै एउटा पाटो हो, ट्राफिक व्यवस्थापनमा चालिएका कदमहरको मुल्यांकन गरि थप विकल्प सहित बजारलाई व्यवस्थित गर्नतर्फ जानुपर्छ, सिस्टम नै भत्काउने गरि अघि बढ्नु हुँदैन’’– उहाँले भन्नुभयो ।नगरपालिकामा आयोजित छलफलमा उद्योग बाणिज्य संघको नेतृत्वमा गएका केहि व्यवसायिहरुले अराजक व्यवहार प्रस्तुत गरेको र एकसुत्रिए रुपमा दुईतर्फी यातायात सुचारु गर्ने माग राखेको प्रति आफुहरु अचम्वीत बनेको उहाँको भनाई छ ।

एकतर्फीले बजारमा यातायात व्यवस्थापन र पैदल यात्रु तथा सर्वसाधरणलाई समेत सहज भएको र दुर्घटना न्यूनिकरणमा समेत सघाएको स्विकार गरेर पनि केहि व्यवसायिका सामान विक्रिमा कमि आएको तर्क राखेर सिस्टम नै फेर्नुपर्छ भन्नु सर्तसंगत र उचित नभएको प्रनाउ राईको भनाई छ ।

गत सोमबार बेनी नगरपालिकामा बसेको बैठकले ‘‘बेनी बजारलाई व्यवस्थित गराउने क्रममा मिति २०७८/०८/१४ गतेको निर्णयवाट कार्यान्वयन गरिएको एकतर्फी सडक सञ्चालनबाट व्यवसायमा गम्भीर असर पारेको र थप असुविधा सिर्जना गरेको भन्ने भन्ने आज उपस्थित व्यवसायि तथा टोल सुधार समितिका तर्फबाट उपस्थित सबैको साझा धारणा देखिएको हुँदा साविकमा ट्रायलको रुपमा गरिएको एकतर्फी यातायात सञ्चालनको कार्यलाई मनन गरी दुईतर्फी यातायात सञ्चालनको विषयमा आबश्यकता अनुसार उद्योग बाणिज्य संघको नेतृत्वमा टोल सुधार समिति र उद्योग वाणिज्य संघबिच व्यापक छलफल गरी बजार व्यवस्थापनका बिषयमा थप सुधारका उपायहरु सहित सिफारिश गर्ने र नगरपालिकासँगको समन्वय र सहकार्यमा कार्यान्वयन गर्ने गराउने भन्ने व्यहोराको निर्णय गरेको थियो ।

गत पुस १ गतेदेखि बेनीमा अव्यवस्थित ट्राफिकलाई व्यवस्थापन गर्ने उदेश्यले एकतर्फी यातायात सुचारु गरिएको थियो । बेनी नगरपालिकाको कार्यालयमा गत मंसिर १४ गते भएको सरोकारवालाको बैठकको निर्णयअनुसार पुस १ गतेदेखि बेनी बजार भित्र क्याम्पसचोकदेखि जिल्ला प्रशासन कार्यालय अगाडीसम्मको सडकमा एकतर्फी यातायात सञ्चालन हुँदै आएको छ ।