एकतर्फी यातायातको निर्णय दुई महिनामै उल्टाउने बेनी नगरपालिकाको बाध्यता के थियो ?

  • ४ फाल्गुन २०७८, बुधबार
  • 662 पटक पढिएको

म्याग्दी ४ फागुन । म्याग्दीको सदरमुकाम बेनी बजारभित्रको सडकमा सुरु गरिएको एकतर्फी यातायात सञ्चालनको निर्णयबाट बेनी नगरपालिका दुई महिनामै पछि हटेको छ । सुरक्षा निकायको अनुरोधमा गत पुस १ गतेदेखि बेनीमा अव्यवस्थित ट्राफिकलाई व्यवस्थापन गर्ने उदेश्यले एकतर्फी यातायात सुचारु गरिएको थियो । एकतर्फी यातायातले व्यापार व्यवसायमा असर परेको भन्दै न्यूरोड क्षेत्रका व्यवसायिहरु, टोल सुधार समिति र म्याग्दी उद्योग बाणिज्य संघका पदाधिकारीहरुको समेत दबाब भएपछि नगरपालिका आफ्नो पूर्ववत निर्णयबाट पछि हट्ने निर्णयमा पुगेको छ।


बेनी नगरपालिकाको कार्यालयमा गत मंसिर १४ गते भएको सरोकारवालाको बैठकको निर्णयअनुसार पुस १ गतेदेखि बेनी बजार भित्र क्याम्पसचोकदेखि जिल्ला प्रशासन कार्यालय अगाडीसम्मको सडकमा एकतर्फी यातायात सञ्चालन हुँदै आएको थियो । सोमबार बेनी नगरपालिकामा उद्योग बाणिज्य संघ, टोल सुधार समिति र सुरक्षा निकायका प्रतिनिधिहरुबिच भएको छलफलमा सुरक्षा निकायको असहमतीका बिच एकतर्फी यातायात सञ्चालनको निर्णयबाट नगरपालिका पछि हट्ने निष्कर्षमा पुगेको छ ।

न्यूरोड क्षेत्रका व्यवसायि र उद्योग बाणिज्य संघबाट पटक पटक भएको असहमती सहितको ध्यानकर्षणको कारण पुनर्बिचारको अवस्थामा पुगिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले जानकारी दिनुभयो । ‘‘सुरक्षा अधिकारी बाहेक सहभागी अधिकाँशले एकतर्फी यातायातले व्यापार व्यवसायमा गम्भिर असर परेको भन्नुभएको छ, अव्यवस्थित तवरले बनेका पालि, टहरा हटाउन उद्योग बाणिज्य संघ र टोल विकास समितिले नगरपालिकासंग समन्वय गरि हटाउने र दुईतर्फी यातायात सञ्चालनको बारेमा प्रतिवेदन पेश गरेपछि थप निर्णय गर्ने सल्लाह भएको छ’’– उहाँले भन्नुभयो ।

उक्त बैठकमा सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरुले एकतर्फी यातायातले सडक दुर्घटना न्यूनिकरण भएको, सर्वसाधारण, यात्रु र यातायातका साधन चलाउनेहरुलाई समेत सहज भएको भन्दै एकतर्फी यातायातको अभ्यासलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको थियो । ट्राफिक प्रहरी सहितको सुरक्षा निकायका प्रतिनिधिको असहमतिका बिच उद्योग बाणिज्य संघ र केहि व्यापारीहरुको दबाबमा नगरपालिका पूर्ववत निर्णयबाट पछि हट्ने अवस्था आएपछि सुरक्षा निकायका प्रतिनिधिहरुले बैठक छाडेर निस्किएका थिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्द्रबहादुर नेपालीले बेनी बजारभित्रका सडक साँघुरो भएको र दोहोरो सवारीका कारण दुर्घटना र जाम लगायतको ट्राफिक समस्या न्यूनीकरणमा एकतर्फी यातायातले टेवा पु¥याएको कारण यसलाई निरन्तरता गर्दै थप व्यवस्थित गर्न आफुहरुले सुझाब दिएको बताउनुभयो । ‘‘साँघुरो सडकमा दोहोरो यातायातको कारण दिनहुँ जसो दुर्घटना भैरहन्थ्यो, एकतर्फी यातायात सुचारु भएपछि त्यो सतप्रतिशत न्यूनिकरण भएको थियो, यसैलेपनि एकतर्फी यातायातलाई नै निरन्तरता दिनुपर्छ भन्ने हाम्रो बुझाई हो’’–उहाँले भन्नुभयो ।
नगरपालिकाले सोमबार गरेको निर्णय यस्तो छ
बेनी बजारलाई व्यवस्थित गराउने क्रममा मिति २०७८/०८/१४ गतेको निर्णयवाट कार्यान्वयन गरिएको एकतर्फी सडक सञ्चालनबाट व्यवसायमा गम्भीर असर पारेको र थप असुविधा सिर्जना गरेको भन्ने भन्ने आज उपस्थित व्यवसायि तथा टोल सुधार समितिका तर्फबाट उपस्थित सबैको साझा धारणा देखिएको हुँदा साविकमा ट्रायलको रुपमा गरिएको एकतर्फी यातायात सञ्चालनको कार्यलाई मनन गरी दुईतर्फी यातायात सञ्चालनको विषयमा आबश्यकता अनुसार उद्योग बाणिज्य संघको नेतृत्वमा टोल सुधार समिति र उद्योग वाणिज्य संघबिच व्यापक छलफल गरी बजार व्यवस्थापनका बिषयमा थप सुधारका उपायहरु सहित सिफारिश गर्ने र नगरपालिकासँगको समन्वय र सहकार्यमा कार्यान्वयन गर्ने गराउने निर्णय गरियो।
यसरी सुरु भएको थियो एकतर्फी यातायात
गत मंसिर १४ गते बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठको अध्यक्षतामा बसेको सरोकारवालाहरु समेत सहभागी बैठकले बेनीको ट्राफिक व्यवस्थापनमा विभिन्न निर्णय गरेको थियो । बेनीको बहुउदेश्यीय खेलमैदान र कालीपुलमा रहेको बसपार्क व्यवस्थापनको लागि व्यवस्थापन समिति गठन गर्ने, बेनी नगरपालिका–७ र ८ बेनीबजारभित्र सडक मापदण्ड मिचेर बनाइएका छाप्रा, पालि, अव्यवस्थित पेटी, होडिङ बोर्ड लगायतका संरचना हटाउनका लागि सूचना जारी गर्ने र अटेर गरेमा नगरपालिका, वडा, प्रशासन, प्रहरी र म्याग्दी उद्योग बाणिज्य संघको संयुक्त टोलीले हटाउने निर्णय भएको थियो । उक्त बैठकले बेनीबजारको ट्राफिक व्यवस्थापनको लागि निकै महत्वपूर्ण निर्णय समेत गरेको थियो । सोहि बैठकले बेनी बजारमा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउनका लागि एकतर्फी सवारी साधन गुड्ने प्रवन्ध मिलाउन ट्राफिक चिन्हहरु समेत राख्ने निर्णय गरेको थियो । सुरुवातमा ‘विरेन्द्रचोक देखि न्यूरोड, क्याम्पसचोक, शिक्षामार्ग हुँदै अस्पिटल चोकसम्म र हस्पिटल चोक देखि पिपलचोक, क्याम्पसचोक , गणेशटोल, संगमचोक, बालमन्दिर चोक हुँदै विरेन्द्रचोक निस्कने गरि सवारी साधन सञ्चालन गर्ने निर्णय भएको थियो । पछि समुदाय स्तरबाट आएका सुझाब र माग बमोजिम भित्रि गल्लीहरुबाट समेत एकअर्को सडकमा पुग्न दिने गरि एकतर्फी यातायातलाई सरलीकरणको काम भयो भने नगर प्रमुख श्रेष्ठकै अध्यक्षतामा पुस २९ गते बसेको बैठकले एकतर्फी यातायातलाई थप व्यवस्थित गर्ने निर्णय गर्दै व्यापारिक प्रयोजनका लागि आउने सवारी साधनलाई कालिपुल ट्राफिक चोकदेखि एकतर्फी रुपमा चल्ने गरी बजार प्रवेश गर्न पाउने व्यवस्था गर्ने र बजारभित्र घर अगाडी सडक ओगट्ने गरी बनाइएका फलाम र सिमेन्टका सिँढी हटाउने निर्णय गरेको थियो । तर फागुन २ गते बसेको बैठकले एकतर्फी यातायातको प्रवन्धलाई दुई तर्फी नै सञ्चालन गर्ने गरि पछि हट्ने निर्णय गरेको छ ।
गम्भीर प्रश्न उठ्यो
पैदल यात्रि र यात्रुलाई सहज, ट्राफिक व्यवस्थापनमा समेत निकै सकरात्मक प्रभाब पार्दै गएको एकतर्फी यात्रायातलाई एकाएक हटाउने अवस्थामा पुगेपनि अब गम्भिर प्रश्न उठेको छ, के नगरपालिका सिमित व्यक्तिको लहडमा चल्ने संस्था हो । बजारका अधिकाँश नागरिकले सहर्ष स्विकार गरेको र बजारभित्रको ट्राफिक व्यवस्थापनमा समेत उल्लेख्य सुधार ल्याउन मद्धत गरेको एकतर्फी यातायातलाई केहि व्यक्तिको व्यापार व्यवसायसंग सौदाबाजी गर्न मिल्छ ? बेनीमा एकतर्फी यातायात सञ्चालन गर्दा बेनीमा सामान किनबेच गर्नेले कहाँ गएर सामान किन्न थाले ? पर्वत, बाग्लुङ पुग्न थालेका हुन र ? कि व्यवसाय गर्नेहरुका ग्राहक खोजिदिने जिम्मा नगरपालिकाले लिएको हो ? भन्ने जस्ता गम्भिर टिप्पणीहरु आम रुपमा सुरु भएको छ । ‘‘पैदल हिँडेरै १० मिनेटमै फन्को मार्न मिल्ने बजारमा एकतर्फीले व्यवसाय घट्यो भन्नु आफैमा गिज्याउने तर्क भएको भन्दै ट्राफिक व्यवस्थापनमा सुधार हुँदै गएको एकतर्फी यातायातलाई उल्ट्याउ दबाब दिनु गलत भएको गणेशटोलका व्यवसायि भिमसेन बराईलको भनाई छ । ( समृद्ध साप्ताहिकमा फागुन ४ गते बुधवार प्रकाशित)