म्याग्दीका दुई स्थानीय तहमा जौ र आलु विकास कार्यक्रम सुरु

  • ४ फाल्गुन २०७८, बुधबार
  • 755 पटक पढिएको

म्याग्दी ४ फागुन । म्याग्दीका दुई स्थानीय तहमा यस वर्षदेखि जौ र आलुको व्यावसायिक उत्पादन केन्द्र कार्यक्रम सुरु गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत रघुगङ्गा गाउँपालिका–५ झिँ र ६ नं वडा पाखापानीमा जौ तथा मालिका गाउँपालिका–६ को दिच्याम र ७ नं वडाको बिममा आलु ब्लक सुरु गरिएको हो । कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले जौ र आलुको व्यावसायिक खेती विस्तार, गुणस्तर सुधार, उत्पादन वृद्धि र बजारीकरणमा सघाउने उद्देश्यले ब्लक कार्यक्रम सुरु गरिएको बताउनुभयो ।


‘पालिका र जिल्लास्तरमा सरोकारवालाको सिफारिसपछि थपिएको आलु र जौ जोन कार्यक्रम कृषकको सञ्चालक समिति गठन र सम्झौता गरी कार्यान्वयन थालिएको छ’– उहाँले भन्नुभयो, ‘नयाँ ब्लक कार्यक्रमका लागि चालू आर्थिक वर्षमा रु २४ लाख बजेट विनियोजन गरिएको छ ।’ केन्द्रमार्फत यसअघि रघुगङ्गा–८ कुइनेमङ्गले, अन्नपूर्ण–८ राम्चे र मङ्गलाको ३, ४ तथा ५ नम्बर वडामा आलु, बेनी नगरपालिका–४ र मङ्गला–३, मालिकाको ४, ५, ६ र ७ वडामा सुन्तला तथा धवलागिरि–७ ताकममा रैथाने धानबालीको ब्लक कार्यक्रम सञ्चालन गरिएको थियो ।

छ ब्लक कार्यक्रमको निरन्तरताका लागि रु १३ लाख ११ हजारका दरले बजेट विनियोजन गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख किरन सिग्देलले बताउनुभयो । जौको ब्लक ५० हेक्टर र आलु ब्लक ३० हेक्टर क्षेत्रफल समेटिएको छ ।कार्यक्रममार्फत कृषकलाई निःशुल्क तालिम र प्राविधिक सहयोगका साथै सिँचाइमा ८५ र कृषि औजार, बीउ र विषादीमा ५० प्रतिशत अनुदान उपलब्ध गराइने केन्द्रका प्रमुख सिग्देलले बताउनुभयो । पोषिलो खाद्यबाली जौको खेती घट्दो क्रममा रहेको अवस्थामा सुरु गरिएको कार्यक्रमले संरक्षण र व्यावसायिक उत्पादन तथा बजारीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

जिल्लाभर ३०० हेक्टरमा जौखेती हुने र वार्षिक ४०० मेट्रिकटन उत्पादन हुने कृषि ज्ञान केन्द्रले जनाएको छ । एक हजार ६०० हेक्टरभन्दा बढीमा खेती हुने आलु यहाँबाट निकासी हुने मुख्य कृषिउपज हो । जिल्लामा वार्षिक १६ हजार ४५० मेट्रिकटन आलु उत्पादन हुन्छ । संघीय सरकारअन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले जोन, प्रदेश सरकारको कृषि ज्ञान केन्द्रले ब्लक र स्थानीय तहका कृषि शाखाले पकेट क्षेत्रका कार्यक्रम कार्यान्वयन गरेका छन् ।