बजेट अभावले रानी पौवा बृहत खानेपानी आयोजना अलपत्र

  • ३ फाल्गुन २०७८, मंगलवार
  • धिरन खत्री
  • 1153 पटक पढिएको

म्याग्दी, ३ फागुन । रघुगंगा गाउँपालिका– ३ रानीपौवामा बृहत खानेपानी आयोजना चारबर्षदेखि बजेट अभावले अलपत्र परेको छ । रानीपौवामा चारबर्ष अघि एक घर एक धारा कार्यक्रम अनुसार खानेपानी आयोजना निर्माण सुरु भएको थियो । बजेट अभावले खानेपानी आयोजना अलपत्र पर्दा रानीपौवाबासीलाई सहज रुपमा पानी पिउन पाएका छैनन् । दैनिक मुहानमा नपुगेसम्म घर पानी नआउने रानीपौवाका बासिन्दा विरबहादुर विकले बताए ।


‘पानी संकलन गर्ने ट्यांकी प्रयोगविहिन भएको छ, पाईप अभावले सयौ टुक्रा जोडेर घरमा पानी लिएर खाएका छौ, बजेट अनुसार आएको पाईप त्यसै थन्किएर बसेको छ, एक घर एक धारा सुविधाको भरपर्दा अहिल्य दिनको दश चोटी मुलमा नपुगेसम्म घरमा पानी आउदैन्’– विकले भने ।

रानीपौवा वुहत खानेपानी उपभोक्ता समितिका अध्यक्ष तोरणबहादुर कार्कीले १ करोड ६६ लाख रुपैया लागत रहेको आयोजना चार बर्ष अघि सुरु भएको थियो । “खानेपानी, जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालयबाट लागत अनुसारको काम सम्पन्न हुने किसिमले पुर्ण बजेट विनियोजन नगर्दा एक घर एक धारा खानेपानी आयोजना अलपत्र परेको छ।”

‘हरेक बर्ष एक÷दुई लाख रुपैया बजेट पर्छ, अघिल्लो बर्ष दुई लाखको काम भएपनि भुक्तानी कार्यालयबाट नहुदाँ हार्डवयरमा सामानको पैसा तिर्न सकेका छैनौ, अहिल्य पनि ५० लाख भन्दा माथि बजेट आवश्यक रहेको आयोजनामा यस बर्ष दुई लाख बजेट परेको छ, यसबाट के काम गर्ने के नगर्ने अलमलमा उपभोक्ता समिति परेका छौ’, अध्यक्ष कार्कीले भने ।

खानेपानी, जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालयका प्रमुख सुरेन्द्र पौडेलले संघिय कार्यक्रम अनुसार संचालित यो योजना अघिल्लो बर्ष यस कार्यालयलाई हस्तान्तरण भएको थियो। ‘क्रमागत योजनाअनुसार रहेको यो योजनालाई अहिल्य आएको बजेट कार्यान्वयन गर्ने र अघिल्लो बर्ष काम गरेर बाकी रहेको रकमलाई भुक्तानी गर्ने योजना कार्यालयको छ’,– कार्यालय प्रमुख पौडेलले भने। ‘आगामी आर्थिक बर्षमा आयोजनालाई सम्पन्न गराउने बजेट विनियोजनमा कार्यालयले ध्यान दिने छ।’

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l