सुदिप स्मृति कोषको विविध कार्यक्रम

  • १ फाल्गुन २०७८, आईतवार
  • 569 पटक पढिएको

बेनी, १ फागुन । सुदिप रावल स्मृति कोषले आइतबार १३ औ स्मृति दिवस अवसरमा विविधि कार्यक्रम गरी मनाएको छ । गतबर्षको दश जोड दुईको परीक्षामा म्याग्दी जिल्लामा सर्वोकृष्ट अंक प्राप्त गर्ने तिन जना विद्यार्थीलाई सम्मान तथा पुरस्कृत, आगलागी पीडित र यूवा क्लवलाई खेलकुद साम्रागी वितरण गरेको हो । जिल्ला प्रथम हुने माउण्ट एभरेष्ट आवासीय माविका शंसाक श्रेष्ठ (३.६२ जिपिए),न्यु वेष्ट पोइन्ट आवासीय माविका छात्र निराजन जिसी (३.५७ जिपिए) तृतिय न्यू वेष्ट प्वाइन्टकै सुस्मिता विक (३.५१ जिपिए) लाई प्रमुख अतिथि गण्डकी प्रदेशकी पुर्व सामाजिक विकास मन्त्री नरदेवी पुनले क्रमशः नगद रु. ६ हजार, ३५ सय र २ हजार नगद तथा प्रमाणपत्रले सम्मान गर्नुभएको थियो ।


सोही अवसरमा बेनी नगरभित्रका ८ वडामा सक्रिय २२ यूवा क्लवलाई खेलकुद साम्रागी र बेनपा–६ की अग्नी पीडित सुस्मा खत्रीलाई ७ हजार ५ सय उपलब्ध गराइएको थियो । स्मृति दिवसको अवसरमा बोल्दै प्रमुख अतिथि पुनले कोषमार्फत शिक्षा, स्वास्थ्य र खेलकुदको क्षेत्रमा गर्दै आएको कार्यहरु रचनात्मक रहेकोले बताउनुभयो । सोही अवसरमा जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्रबहादुर कटुवाल, कोषका सल्लाहकार कृष्णबहादुर थापाले मन्तब्य राख्नुभएको थियो ।

कोषका अध्यक्ष रावलले कोष मार्फत सामुदायिक विद्यालयका विद्यार्थी, खेलकुद गतिविधि, आर्थिक सहयोग लगाएत विभिन्न कार्यहरुमा सहयोग गरिएको जानकारी गराउनुभएको थियो । ०६५ साल फागुन १ गते बागलुङ बजारबाट मालढुंगा जाने क्रममा मोटरसाईकल दुर्घटनामा परी ज्यान गुमाएका बेनी नगरपालिका–१ रत्नेचौरका रावलको स्मृतिमा २ लाख ५० हजारको अक्षय कोषको स्थापना गरिएको छ । कोषको आकार बढाउन कृष्ण बहादुर रावलले ३० हजार सहयोग हस्तान्तरण गर्नुभएको थियो । कोषका अध्यक्ष रावलको अध्यक्षतामा भएको कार्यक्रममा कोषका उपाध्यक्ष टेकबहादुर रावलको स्वागत, सदस्य हरिकृष्ण गौतमले संस्थागत गतिविधिका बारेमा जानकारी र सचिब विक्रम बोगटीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो।