शनिवारका दिन पार्टीको कार्यक्रममा रघुगंगा गाउँपालिकाको गाडी दुरुपयोग

  • २९ माघ २०७८, शनिबार
  • 881 पटक पढिएको

म्याग्दी २९ माघ । म्याग्दीको रघुगंगा गाउँपालिकाको गाडी दुरुपयोग भएको छ । शनिवार विदाको दिनमा पार्टीको काममा गाउँपालिकाको गाडी प्रयोग गरि दुरुपयोग भएको हो । बेनी नगरपालिका–४ डाँडाखेतमा काँग्रेसको एक कार्यक्रममा सहभागी हुन जाने क्रममा बेनीबाट नेपाली काँग्रेस म्याग्दीका उप–सभापति केवी भण्डारी र काँग्रेस निर्वाचन क्षेत्र कका सभापति ओम छन्त्यालले गाउँपालिकाको गाडी चढेर कार्यक्रम स्थलमा गएको पाईएको हो ।


उप–सभापति भण्डारी गाउँपालिका अध्यक्षका सल्लाहकार समेत हुनुहुन्छ । विदाको दिनमा एउटा गाउँपालिकाको गाडी अर्कै स्थानीय तहमा पार्टीको गतिविधिमा प्रयोग भएको भेटिएपछि सामाजिक सञ्जालमा आलोचना समेत भएको छ । पार्टीको कार्यक्रममा जाने क्रममा गाउँपालिकाको गाडी प्रयोग भएको उक्त कमजोरीलाई गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले स्विकार गर्नुभएको छ ।

‘‘म आज प्रहरी चौकी स्थापनाको शिलसिलामा चिमखोलामा छु, बेनीमा पार्टी उप–सभापति र क्षेत्रिय सभापति पार्टीको कार्यक्रममा जानको लागि गाडि चाहिने भएकाले मेरो निजि सवारीलाई लैजान भनेको थिए, उक्त निजी सवारीमा तेल सकिएको र कार्यक्रममा हतारमा जानुपर्ने भएकाले दुबै गाडीको चावी संगै भएकाले गाउँपालिकाको गाडी प्रयोग हुन गएको पाएँ, यो कमजोरीलाई आगामी दिनमा हुन नदिन म प्रतिबद्ध छु’– गाउँपालिका अध्यक्ष भण्डारीले भन्नुभयो । गाउँपालिकाको कोरोना महामारीको समयमा आफ्नो निजि सवारीलाई निशुल्क रुपमा एम्बुलेन्सको रुपमा प्रयोग गरेको स्मरण गराउँदै अध्यक्ष भण्डारीले गाउँपालिकाको सवारी साधनलाई पालिकाकै कामको प्रयोजनमा मात्रै प्रयोग गरिँदै आएको समेत बताउनुभयो ।