म्याग्दीमा फागुन १ गतेदेखि शैक्षिक संस्थाहरुमा भौतिक रुपमै पठनपाठन हुने

  • २८ माघ २०७८, शुक्रबार
  • 807 पटक पढिएको

म्याग्दी २८ माघ । कोरोनाको तेस्रो लहरको जोखिम कम हुँदै गएपछि आगामि फागुन १ गतेदेखि म्याग्दीका शैक्षिक संस्थाहरुमा भौतिक रुपमै पठनपाठन हुने भएको छ । विद्यालयहरुसंगै, तातोपानी कुण्ड, पर्यटकीय तथा धार्मिक क्षेत्रहरु समेत स्वास्थ्य मापदण्डको पूर्ण पालना गरि खुलाइने भएको हो ।


जिल्ला प्रशासन कार्यालयमा शुक्रबार बसेको कोभिड– १९ संकट ब्यवस्थापन समन्वय केन्द्रको बैठकले जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गर्दै खुकुलो बनाउने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी चिरञ्जिबी रानाले बिद्यालय, धार्मिक, पर्यटकीय स्थल, तातोपानी कुण्डहरु जनस्वास्थ्य र सुरक्षाको मापदण्डको प्रभाबकारी कार्यान्वयन गराएर खुला गरिएको जानकारी दिनुभयो ।

उहाँले कोरोना (भाइरस) को संक्रमण दर घटेपनि जोखिम कायमै भएकाले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै खुकुलो बनाउने निर्णय लिइएको बताउनुभयो । कोरोना ( भाइरस ) को तेस्रो भेरियन्ट फैलिएपछि माघ ६ गतेदेखि म्याग्दीका बिद्यालय, तातोपानी कुण्ड, मेला पर्व बन्द गरिनुका साथै प्रशासन, मालपोत लगायतका सरकारी कार्यालयले आलोपालो प्रणाली लागू गरेका थिए । खेलकुद कार्यक्रम सञ्चालन गर्दा कुल दर्शक क्षमताको ५० प्रतिशत मात्रै सहभागी हुने गरि जनस्वास्थ्यका मापदण्डको पालना गरि गर्न सक्ने जनाइएको छ ।

म्याग्दीमा हाल कोरोनाका सक्रीय संक्रमितको संख्या १२८ जना छ । यसैगरी फागुन १ गतेदेखि यसअघि दोस्रो मात्राको कोरोना बिरुद्धको खोप लगाएका जेष्ठ नागरिकहरुलाई बुस्टर ( अतिरिक्त ) डोजको खोप लगाउन शुरु हुने भएको छ ।
स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले फागुन दश गतेसम्म छ महिना अघि दुई डोज लगाएकाहरुलाई बुस्टर डोज लगाउन लागिएको बताउनुभयो । यसअघि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, जनप्रतिनिधी, सञ्चारकर्मी, सवारी चालक र बिद्यार्थीहरुलाई कोरोना बिरुद्धको बुस्टर डोज खोप लगाइएको छ ।