नदीको कटानबाट बेनीबजारलाइ जोगाउन तटबन्धको काम सुरु

  • २६ माघ २०७८, बुधबार
  • 750 पटक पढिएको

 

म्याग्दी २६ माघ । कालीगण्डकी र म्याग्दी नदीको कटान रोकथामका लागि बेनी बजार संरक्षण योजना सुरु भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको रुपाताल संरक्षण एकीकृत विकास परियोजना, पोखराले बेनीस्थित कालीगण्डकी र म्याग्दी किनारमा तटबन्ध बनाउन सुरु गरेको हो ।


कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित बेनी बजार नदी कटानको उच्च जोखिममा पर्छ । बेनी बजार संरक्षण योजना निर्माणका लागि ठेक्का सम्झौता गरेका रौताह–बिएनबी कन्ट्रक्शनले कालीपुल बसपार्कमा पक्की पर्खाल निर्माण गर्ने कार्य सुरु गरेको छ ।


रुपाताल संरक्षण एकीकृत विकास परियोजनाका परियोजनाका इञ्जिनीयर कृष्ण विश्वकर्माले कूल रु १४ करोड लागत अनुमान गरिएकोमा रौताह–बिएनबीले ९ करोड ४५ लाख १७ हजार ७४२ रुपैयामा निर्माणको ठेक्का पाएको जानकारी दिनुभयो । निर्माण कम्पनीले कालीगण्डकी नदीको किनारस्थित कालीपुल बसपार्क, म्याग्दी उद्योग वाणिज्य संघको तल्लो क्षेत्र र म्याग्दी खोलाको दाँयापट्टी पक्की पर्खाल निर्माण काम गर्ने छन् । यही माघ १२ गते ठेक्का सम्झौता भएको परियोजना आगामी २०८० सालको पुषसम्ममा सम्पन्न गर्ने सम्झौता छ ।

कालीपुलमा ८० र सगंमचोक पछाडि म्याग्दी जेसिजको भवन नजिकैको कालीगण्डकी किनारमा करिब १६८ मिटर आरसिसी तथा मङ्गलाघाटस्थित म्याग्दी किनारमा करिब ६० मिटर पर्खाल निर्माण गरिनेछ । चार मिटर फराकिलो जगदेखि दुई मिटरमाथिबाट ५० सेन्टिमिटर बाक्लो र पाँच मिटर अग्लो आरसिसी पर्खाल निर्माण कम्पनीले बनाउने सम्झौता काम थालनी भएको परियोजनाले जानकारी दिएको छ।

बर्खायाममा कालीगण्डकी र म्याग्दी नदीको कटानको जोखिममा बेनीबजार रहदै आएको छ । नदी कटानको जोखिमपुर्ण क्षेत्रलाई प्राथमिकता दिएर डिपिआर अनुसार संरक्षणको काम भइरहेको बेनी नगरपालिका प्रवक्ता एवम् वडानम्वर ८ का वडा अध्यक्ष रामकृष्ण बराईलीले बताउनुभयो । कालीगण्डकीमा गत असार १ गते आएको बाढीले बेनीको सङ्गमचोक पछाडि र कालीपुल बसपार्क क्षेत्रमा कटान गरेको थियो ।

बेनी बजारमा एक हजारभन्दा बढी परिवारको बसोबास छ । परियोजनाले हरेक बर्ष तटबन्धको लागि बजेट विनियोजन गरेर काम भएपनि निर्माण ब्यवसायीको लापरबाहीले गुणस्तरीय काम नहुदाँ नदीको बहाफले तटबन्धमा कटान र क्षति पु¥याउदै आएको छ ।