तातोपानी कुण्ड बन्द हुँदा विद्यालय सञ्चालनमा समस्या

  • २५ माघ २०७८, मंगलवार
  • 1237 पटक पढिएको

म्याग्दी २५ माघ । मुख्य आयस्रोतका रुपमा रहेको तातोपानी कुण्ड बन्द हुँदा म्याग्दीको बेनी नगरपालिका–४ स्थित सरस्वती मावि सञ्चालनमा समस्या भएको छ । प्राकृतिक तातोपानीको कुण्डमा स्नान गर्न आउने बिरामीहरूले तिर्ने शुल्क र चन्दाबाट विगत १२ वर्षदेखि निजी स्रोतका शिक्षकलाई तलब उपलब्ध गराइँदै आएको थियो । कोरोना भाइरस महामारीका कारण पछिल्लो दुई वर्षयता तातोपानी कुण्ड बन्द हुँदा विद्यालय सञ्चालनमा असर परेको प्रधानाध्यापक सुरत बानियाले बताए ।


‘१६ जनामध्ये चारजना शिक्षकको तलबका लागि तातोपानी कुण्डले मासिक एक लाख रुपैयाँ सहयोग गर्दै आएको थियो,’ उनले भने ‘कुण्ड बन्द हुँदा ऋण खोजेर शिक्षकको तलब, भत्ताको जोहो गर्नुपरेको छ । तीन महिनामा दुई महिनाको तलब दिने र एक महिनाको पछि दिने गरी भुक्तानी गरिएको छ ।’ गत वर्षसम्म १० निजी स्रोतका शिक्षक रहेकामा बेनी नगरपालिकाले दरबन्दी मिलानका क्रममा यसपालि प्रावि तहका पाँचजना शिक्षक पठाएको छ । यसअघि प्रावि तहका पाँचजना मात्र स्थायी दरबन्दीका शिक्षक थिए । मावि तहका एकजना शिक्षण सहायता अनुदानबाट नियुक्त गरिएका शिक्षक छन् ।

प्राविको दरबन्दीमा नियुक्त भए पनि निमावि र माविमा पढाउनेलाई भत्ता र निजी स्रोतका शिक्षकलाई भत्ता दिन तातोपानी कुण्डलाई आयस्रोत बनाइएको थियो । २०६५ सालदेखि निमावि र २०६९ सालदेखि मावि तह सञ्चालन भएको विद्यालयमा २५६ जना विद्यार्थी छन् । २०७६ साल चैत महिनादेखि बन्द भएको तातोपानी कुण्ड २०७७ साल माघ १ गतेदेखि खोलिएकामा कोरोनाको दोस्रो लहर फैलिएपछि २०७८ वैशाखदेखि बन्द भयो । गत असोज १ गतेदेखि खुलेको कुण्ड पुनः माघ महिनादेखि बन्द छ ।