कालीगण्डकी नदीको कटानले पक्की पुलको पिल्लर जोखिममा

  • २५ माघ २०७८, मंगलवार
  • 957 पटक पढिएको

बेनी, २५ माघ । म्याग्दी र पर्वत जोड्ने कालीपुलस्थित मोटरपुल कालीगण्डकी नदीको निरन्तर कटानले जोखिमपूर्ण बनेको छ । बेनी नगरपालिका– ८ कालिपुलस्थित मोटरेपुल पुलको पिलर कालीगण्डकी नदीको निरन्तर कटानले पिल्लर कमजोर बन्दै गएको छ ।


पुलको पिलर नै नदी कटानले जीर्ण भए पनि सरोकारवाला निकायले संरक्षणमा चासो देखाएका छैनन् । सडक विभागले २०६२ मा पर्वतको मल्लाज र म्याग्दी सदरमुकाम बेनी जोड्न कालीगण्डकी नदीमाथि ७२ मिटर लामो मोटरपुल निर्माण गरेको थियो । उक्त फलामे पाता पनि गएको बर्खामा नदीको वेगले उप्काएर पिलर नै भत्काउन थालेको छ। पुल निर्माण भएको १० वर्ष नपुग्दै नदीले पुलको पिलर भत्काएको छ । कालीगण्डकीले भत्काएपछि ५ वर्षअघि पुलको पिलर सुरक्षा गर्न फलामका पाताले बेरेर राखिएको थियो ।


उक्त पुल म्याग्दी र मुस्ताङलाई प्रदेश राजधानी पोखरासमेत देशको उत्तर दक्षिण जोड्ने सडकको मूख्य पुल हो । कालीगण्डकी नदीमा जलसतह घटेको समयमै आवश्यक मर्मत, सम्भार नगरे आउँदो बर्खायाममा नदीले पिलरमा थप क्षति पु¥याउने सम्भावना बढेको छ ।