म्याग्दी खोला जलविद्युत आयोजनाको सुरुङ खन्ने काम सुरू

  • २४ माघ २०७८, सोमबार
  • 893 पटक पढिएको

म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङमा निर्माणधिन २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत आयोजनाको सुरूङ खन्ने काम सुरू भएको छ । नेपाली सेनाको निगरानी तथा ब्यवस्थापनमा बिष्फोटक पर्दाथको प्रयोग गरी मुख्य सुरुङमा पुग्ने कमेरेमा अडिट नम्बर १ को सुरूङ खन्न सुरू गरिएको हो । सुरुङ निर्माणको सुरुवात मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले गरेका थिए ।


आयोजनका साइट ईन्जिनियर बालकुमार रोकाका अनुसार २ सय ५० मिटर अडिट खनेपछि मुख्य सुरुङमा जोडिने र बाँध र पावर हाउस दुबै तर्फ सुरुङ निर्माण सुरु हुने बताए । ‘अब इल्पुमा रहेको बाँध र तल्लो दुखुको आउटलेटबाट पनि सुरुङ खन्ने तयारी भइरहेको छ’ रोकाले भने
जलविद्युत आयोजनाका अध्यक्ष विनोद कुँवरले टनेल निर्माणको कामलाई तिब्र गतिमा अगाडी बढाउने बताए । ‘प्रभावित क्षेत्रका बासिन्दालाई लगानीका लागि समेत अवसर छ’ अध्यक्ष कुँवरले भने । उनले अर्को महिनाबाट सुरुङ खन्ने काम राति र दिउँसो गरि दुई सिफ्टमा हुने समेत बताए । म्याग्दी खोलाबाट विद्युत निकाल्न प्रवासी म्याग्देली र स्थानीयहरुको लगानीमा धौलागिरि कालिका हाइड्रो लिमिटेडले आयोजना निर्माण गर्न लागेको हो ।

मालिका गाउँपालिका–७ बिम र वडा नं ५ देविस्थान र धौलागिरि गाउँपालिका–७ को सिमा क्षेत्रमा रहेको फेदीमा बाँध रहने आयोजनाको साढे ५ किलोमिटर सुरुङ मार्ग रहनेछ । सुरुङमार्ग हुँदै ल्याईने पानीलाई १ सय मिटर हेडबाट रातोढुंगामा निर्माण हुने विद्युतगृहमा खसालेर विद्युत उत्पादन गरिने छ । ३० प्रतिशत संस्थापक र साधारण सेयर तथा ७० प्रतिशत वित्तिय संस्थाको लगानीमा आयोजना निर्माण भइरहेको छ । आयोजना निर्माणमा ५ अर्ब १५ करोड लागत अनुमान गरिएको आयोजनाका प्रवन्ध निर्देशक ईन्जिनियर हर्कमान घर्ति मगरले जानकारी दिए ।

आयोजनाबाट उत्पादन हुने विद्युत बिमको सवस्टेशन मार्फत केन्द्रिय प्रशारणमा जोडीनेछ । हिउँदको चार महिना प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र बर्षायामको ८ महिना प्रतियुनिट ४ रुपैयाँ ८० पैसामा नेपाल विद्युत प्राधिकरण सँग विद्युत खरिदबिक्री हुने सम्झौता भएको छ । आयोजनाको साईट कार्यालय, आवासगृह सहितका भौतिक संरचना समेत तयार भइसकेको छ ।