प्रशासन सेवातर्फ म्याग्दीबाट शाखा अधिकृतमा खत्री सिफारिस

  • २१ माघ २०७८, शुक्रबार
  • 641 पटक पढिएको

म्याग्दी, २१ पुस । निजामती सेवामा खुला प्रतिस्पर्धाबाट छनोट गरिने निजामती सेवा राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत)पदमा प्रशासन सेवातर्फ यसबर्ष म्याग्दीबाट एक जनाको नाम सिफारिस भएको छ । गत माघ १६ गते प्रकाशित भएको नतिजामा बेनी नगरपालिका–६,रिठाबोटका पूर्णबहादुर खत्रीले प्रशासन, लेखा परीक्षण, संसद सेवातर्फ अन्तरवार्तामा सहभागी ४८५ जना सफल उम्मेदवारमा ३६ औं नम्बर र प्रशासन सेवा सामान्य प्रशासन समूहमा ३९२ जनामध्ये ९ नम्बर योग्यता क्रममा सिफारिस हुनुभएको छ ।

यसबर्ष म्याग्दीबाट तीनजनाले लिखितमा नाम निकाल्न सफल भएतापनि अन्तरवार्तामा सफल भएर सिफारिस हुने खत्री एक्लो उम्मेदवार हुनुहुन्छ । बि.स २०७२–सालमा नायब सुब्बा पदबाट निजामति सेवामा प्रवेश गर्नुभएका खत्रीले २०७८–शाखा अधिकृत (न्याय सेवा) तथा प्रशासन सेवामा लिखित परीक्षामा सफल हुनुभएको थियो । प्रशासन तथा न्याय दुवै नागरिकसँग प्रत्यक्ष जोडिने र घुलमिल हुने क्षेत्र भएपनि प्रशासन सेवाबाटै काम गरेको अनुभवलाई निरन्तरता दिन प्रशासन सेवा रोजेको खत्रीले बताउनुभयो । ‘भदौमा आउनुपर्ने नतिजा माघमा आयो,‘प्रशासनतर्फबाटै नागरिकको सेवा गर्न चाहना पुरा भएको छ’ खत्रीले भन्नुभयो ।

न्याय सेवाको अन्तरवार्ता नलिएर लिएको रिस्क प्रशासन सेवमा सफल भएर पुरा भएकोमा सन्तुष्ट रहेको खत्रीको भनाई छ । ‘निजामति सेवाबाट म्याग्दीमा थप सेव गर्ने चाहना छ,‘जहाँ भएपनि उत्कृष्ट सेवा दिने प्रयास गर्नेछु’ खत्रीले भन्नुभयो । यसअगाडी खत्री जिल्ला प्रशासन कार्यालय म्याग्दीमा नायब सुब्बामा कार्यरत हुनुहुन्थ्यो। पछिल्लो समय म्याग्दीबाट निजामती क्षेत्रमा युवाहरूको आकर्षण बढेको खत्रीले बताउनुभयो । यसअगाडी साउन महिनामा लोकसेवा आयोगद्धारा प्रकाशित न्याय सेवा तर्फको शाखा अधिकृतको नतिजामा म्याग्दीबाट कानुन समुहमा कुमार रिजाल र न्याय समुहमा सविता ढुंगाना र होमबहादुर जुग्जाली सिफारिस हुनुभएको थियो ।

उच्च शिक्षाका लागि विदेश जाने तथा बैदेशिक रोजगारीप्रति अझै म्याग्देलीको आर्कषणले निजामति सेवामा सबैभन्दा कम उत्तीर्ण भएर आयोगको सिफारिसमा पर्नेमा म्याग्दी जिल्ला समेत पर्छ । छिमेकी जिल्ला बागलुङ र पर्वतको तुलनामा निजामति क्षेत्रमा म्याग्दीको कमजोर् उपस्थिती भएपछि स्थानीय तहले समेत लोकसेवा आयोगको तयारीका लागि समेत बजेट विनियोजन गरी कक्षा समेत सञ्चालन गर्न थालेपछि लोकसेवाप्रति आकर्षण बढेको छ ।