अन्नपूर्णका अध्यक्ष पुनद्वारा जनप्रतिनिधिको तलबवापतको रु २० लाख सामाजिक क्षेत्रमा
- २१ माघ २०७८, शुक्रबार
- 1203 पटक पढिएको
म्याग्दी २१ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जनप्रतिनिधिको हैसियतमा सुविधावापत पाएको रु २० लाखभन्दा बढी रकम सामाजिक काममा खर्चनुभएको छ । विपन्नको शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, खेलकुद, संस्कृति संरक्षण, धार्मिकस्थलको विकास र बजेट अभावले अधुरा बनेका विकास आयोजनालाई पूर्णता दिन सुविधावापत पाएको रकम खर्चनुभएको हो ।

सेवा सुविधालाई छुट्टै बैंक खातामा जम्मा गरेर करिब पाँच वर्षको अवधिमा रु २० लाख सामाजिक क्षेत्रमा खर्च गरेको भारतीय सेनाका सेवानिबृत्त क्याप्टेनसमेत रहनुभएका अध्यक्ष पुनले बताउनुभयो । “पेन्सनले मेरो खर्च पुग्छ, परिवारका सदस्य आफैँ आत्मनिर्भर छन्”, उहाँले भन्नुभयोे, “जनतासँग गरेको प्रतिबद्धताअनुसार सेवा सुविधालाई सामाजिक क्षेत्रमा लगाएको हुँ ।” गण्डकी प्रदेश सरकारले गाउँपालिकाका अध्यक्षलाई विभिन्न शीर्षकमा मासिक रु ४८ हजार सुविधा तोकेको छ ।

पोखराको सुन्दरीडाँडास्थित शिवमन्दिरमा नियमित पूजा सञ्चालनका लागि रु पाँच लाखको अक्षयकोष स्थापना गरेर एक पुजारीलाई तलबको व्यवस्था गर्नुभएका अध्यक्ष पुनले नारच्याङ आधारभूत विद्यालयमा रु एक लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । परिवारको कमजोर आर्थिक अवस्थाका कारण इञ्जीनियरिङको प्रवेश परीक्षा उत्तीर्ण भए पनि भर्ना हुन नसकेका पाउद्धारका काजल रोकालाई रु एक लाख सहयोग गरेर गण्डकी बोर्डिङ स्कुलमा भर्ना गरिदिनुभएका पुनले करेन्ट लागेर दुवै हात गुमाएकी पाउद्धारकै कृशिखा विकको उपचारका लागि रु ३० हजार सहयोग गरेर सुरु अभियानकाे सुरूवात गर्नुभएकाे छ ।

