म्याग्दीमा हिमपात, पर्यटकीय स्थलहरुमा घुम्न जानेको चहलपहल

  • २१ माघ २०७८, शुक्रबार
  • 841 पटक पढिएको

म्याग्दी २१ माघ । म्याग्दीको हिमाली र उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ । गयराती अविरल बर्षासंगै चिसो बढेपछि हिमपात भएको हो । हिमपातले चिसो बढेपछि जनजिवन प्रभावित बनेपनि पर्यटकीय स्थलहरुमा भने घुम्न जानेको चहलपहल सुरु भएको छ ।


हिमाली क्षेत्रमा पटक पटक हिमपात हुने भएपनि पहाडी क्षेत्रसम्म नै हिमपात भएको यो बर्षको दोस्रो पटक हो । विहिवार साँझदेखि नै परेको हिमपात डेढ फिटसम्म जमेको धवलागिरि गाउँपालिका–१ गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो । हिमपातका कारण स्थानीय लघुजलविद्यूत परियोजना अबरुद्ध भएको छ ।


जिल्लाको धवलागिरि गाउँपालिकाको अधिकाँश क्षेत्रमा हिमपात भएको छ । त्यसैगरि रघुगंगा, मंगला, मालिका र अन्नपूर्ण गाउँपालिकाको समेत हिमाली र उच्च पहाडी तथा बेनी नगरपालिकाको समेत उच्च पहाडी डाँडाकाँडामा हिमपातले सेताम्मे बनेका छन् । सदरमुकाम बेनीदेखि नजिकका पर्यटकीय स्थलहरु रुइसे, टोड्के लगायतका स्थानमा नजिकका गाउँका स्थानीयबासी हिउँमा खेल्न विहानैदेखि पुग्न थालेका छन् ।


रातभर हिमपात भएको र विहान हिउँ र बर्षा दुबै रोकिएकाले नजिकका बस्तीहरुबाट हिमपातमा रमाउनेहरु पर्यटकीय स्थल रुईसेमा पुग्न थालेको स्थानीय युवा हरि भण्डारीले बताउनुभयो । यसैबिच हिमपात र बर्षा भएपछि कृषकहरु उत्साहित बनेका छन् । गहुँ, जौँ, केराउ लगायतका हिउँदेबालिमा सिचाई र खेतमा मकै छर्ने तयारी गरेका कृषकहरुलाई बर्षा र हिमपातले राहत मिलेको छ ।