तातोपानी–पखेर जोड्ने मोटरेवल पुलको ढलानमा भएको त्रुटिले पुल बन्यो ‘नागबेली’ (तस्बिर र भिडियो सहित)

  • २० माघ २०७८, बिहीबार
  • कमल खत्री
  • 1507 पटक पढिएको

म्याग्दी, २० माघ । म्याग्दीको बेनी नगरपालिका–४ तातोपानी फापरखेत र मंगला गाउँपालिका–३ पखेर जोड्ने गरि म्याग्दी नदीमा निर्माणधिन मोटरेवल पुलको ढलान बिग्रिएर ‘नागबेली’ भएको छ । तीन वटा स्पाममध्ये पखेरतर्फको तेस्रो खण्डको ढलान गर्ने क्रममा लापरबाहि हुँदा पुलको दायाँ र बायाँ दुबै तर्फको भाग नागबेलि भएपछि चौतर्फि रुपमा आलोचना भएको छ ।

 

निर्माणधिन पुलको ढलान दविएपछि विहिवार जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसीको नेतृत्वमा प्राविधिकहरु समेत सम्मीलित टोलीले स्थलगत अनुगमन गरेको छ । अनुगमनको क्रममा ३ देखि साढे ६ सेन्टिमिटर सम्म पुलको ढलान दबिएको भेटिएको टोलीले जनाएको छ । पुलको पहिलो ढलान ३० सेन्टीमिटर बाख्लो रहेकोमा कतिपय स्थानमा साढे ६ सेन्टिमिटरसम्म दबिएको पाईएको हो ।


पुलको ढलान गर्दा गरिएको सटिङको टेका बजबुत नभएपछि ढलान दविएको तातोपानीका स्थानीयबासी विरेन्द्रमान शाक्यले बताउनुभयो । ढलानमा भएको कमजोरीले पुलको दिगोपनामा पर्ने प्रभाबबारे सडक डिभिजन र निर्माण कम्पनीका प्रतिनिधिको ध्यानकर्षण गराइएको र दिर्घकालिन रुपमा पर्नसक्ने असरलाई न्यूनिकरण र रोकथाम गर्नतर्फ सजग गराइएको जिसस प्रमुख केसीले बताउनुभयो ।


उहाँले सडक डिभिजनका प्राविधिक टोलीलाई ढलानको लेवल तलमाथि भएको अवस्थाको अध्ययन गरि प्रतिवेदन तयार गरि उपलब्ध गराउन सुझाब दिएको र प्राविधिक रुपमा टुंगोमा नपुग्दासम्म तेस्रो स्पामको थप कामलाई रोक्न लगाईएको समेत बताउनुभयो । म्याग्दी नदिमा चार वटा पिलर बनाएर १०५ मिटर लामो र११ मिटर चौडाइ रहेको पुल निर्माण गर्न लागिएको हो ।
                              यस्तो बन्यो समझदारी
अनुगमन टोली, सडक डिभिजन कार्यालय र निर्माण कम्पनीले प्राविधिक रुपमा थप नापजाँच गरि वास्तविकता पत्ता नलाग्दा सम्म तेस्रो स्पामको थप काम रोक्ने र अन्य बाँकी कामलाई गुणस्तर कायम गरि तिब्रता दिने समझदारी समेत गरेका छन् ।

सडक डिभिजन कार्यालय बाग्लुङले आर्थिक बर्ष २०७३/०७४ मा लुम्बिनी–प्राकृतिक जेभीसँग भ्याट बाहेक ९ करोड ३९ लाख ९३ हजार २७७ मा पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो । ३५ /३५ मिटरका तीन वटा स्पाममध्ये पखेरतर्फको तेस्रो स्पामको ढलानको सटिङमा भएको लापरबाहिले पुलको ६ ठाउँमा दविएको देखिएपछि निर्माण कम्पनी र सम्बन्धित सरोकारवालाहरुलाई जानकारी गराईएको तातोपानीका स्थानीय कुमार केसीले बताउनुभयो ।
                      सडक डिभिजनले के गर्छ अब ?
मोटरेवल पुलको ढलान नागबेली भएको बाहिर आएपछि सडक डिभिजनका प्राविधिकहरुको टोलीले समेत स्थलगत निरिक्षण गरेका छन् । निरिक्षणमा पुगेका सडक डिभिजन कार्यालय बागलुङका इन्जिनियर किरण पोखरेलले ढलानको लेवल नापचाँज गरी विज्ञहरु समेतको सल्लाह लिएर कार्यालयले आबश्यक निर्णय लिने प्रतिकृया दिनुभयो ।

‘‘बिच भागमा समस्या देखिएको छैन, छेउछेउको भाग दविएको छ, प्राविधिक रुपमा अन्य समस्या आउँछ कि आउँदैन भन्ने कुरा महत्वपूर्ण हो, त्यसको बारेमा थप नापजाँच र अध्ययन गछौँ, दविएको लेवल थप १० सेन्टीमिटर ढलान गर्ने काममा मिलाउन सकिन्छ’’– उहाँले भन्नुभयो । ३० सेन्टीमिर बाख्लो ढलानमा थप १० सेन्टीमिटर फिनिसिङ ढलान गर्न बाँकी रहेको छ । अनुगमन टोलीमा जिसस सदस्य शेरबहादुर केसी, पूर्वाधार विकास कार्यालयका इन्जिनियर सुवास श्रेष्ठ लगायत तातोपानी र पखेरका स्थानीय सरोकारवालाहरुको समेत सहभागीता रहेको थियो ।
                      पुलको करिब ८० प्रतिशत काम पुरा
चार वटा पिलर र तीन स्पाम रहेको यस पुलको करिब ८० प्रतिशत भौतिक प्रगति भएको छ । आगामी चैत मसान्तसम्म म्याद थप भएको पुलको तीन वटै सेल्याब ढलानको काम सकिएको छ भने अन्य काम बाँकी रहेको छ । कम्पनी र सडक डिभिजन कार्यालयका प्राविधिकहरुकै सुपरिवेक्षणमा ढलान गरिएको भएपनि ढलानको सटिङमा लगाइएका टेकाहरु दबेको कारण समस्या आएको र प्राविधिकहरुको सल्लाह बमोजिम थप काम अघि बढाउने निर्माण कम्पनीका प्रतिनिधि गोपाल शाहले जानकारी दिनुभयो ।

सडक विभागले मंगला गाउँपालिका– २ बाबियाचौरको माटेबगर र वडा– ५ अर्मनको मसानघाटमा समेत अर्को मोटरेवल पुल निर्माण गरिरहेको छ । लुम्बिनी–प्राकृतिक जेभीले नै ठेक्का लिएर निर्माण गरिरहेको उक्त ८० मिटर लामो पुलको समेत एउटा स्पाम ढलान गरि अर्को स्पामको ढलान गर्ने तयारी गरिएको छ । यि दुई पुल निर्माण भएमा मंगलाको वडा नम्बर ३ र ४ बरंजा तथा वडा नम्बर ५ अर्मनका नागरिकले म्याग्दी नदिमा सहज रुपमा सवारी वारपार र आवतजावत गर्ने सुविधा पाउनेछन् ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l