बेगखोलामा पक्की पुल निर्माण सुरु

  • १८ माघ २०७८, मंगलवार
  • 746 पटक पढिएको

म्याग्दी, १८ माघ । कालीगण्डकी कोरिडोर बेनी–जोमसोम–कोरला सडक योजना अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा पक्की पुल निर्माण सुरु भएको छ । सडक विभागको पुल महाशाखाले ७० मिटर लामो डवल स्पाम भएको पुल निर्माण सुरु भएको हो ।


पुल निर्माणका लागि बीओकेआई÷ हिमालयन जेभीले भ्याटसहित ८ करोड ३० लाख ६८ लाख ४७३ रुपैयाँमा निर्माणको जिम्मा लिएको थियो । विभागका पश्चिम सेक्टर कार्यालयका इन्जिनीयर आशिक रिजालले निर्माण कम्पनीले सामग्रीसहित मजदुर जुटाएर पुल निर्माणका काम सुरु बताए । २०८० चैत २५ गतेभित्र सम्पन्न गर्ने योजनासहित ११ मिटरको चौडाई हुने पुलको डिजाईन एण्ड बिल्ड मोडलमा सम्झौता भएको छ, उनले भने ।


पक्की पुल निर्माणसंगै गण्डकी प्रदेश सरकार अन्तरगत पुर्वाधार विकास कार्यालय म्याग्दीले बेगखोलामा ८० मिटर लामो झोलुङ्गे पुल निर्माण सुरु गरेको छ । गत कात्तिक तेस्रो हप्ता करसहित २९ लाख ३८ हजार रुपैयामा ठेक्का सम्झौता गरेर हिमशिखर कन्ट्रक्सनले पुल निर्माणको काम गरिरहेको पुर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले बताए ।
२०७३ भदौ १७ गतेको बाढीले बेगखोलामा बेलिव्रिज, झोलुङ्गपुल, ११ वटा घरसहित १ जना मान्छे बगाएको थियो । पुल बाढीले बगाएपछि बर्खायाममा आउने बाढीले विगत ५ बर्षदेखि यातायात सेवासहित पदयात्रीहरु खोलामा जोखिमपुर्ण यात्रा गर्न बाध्य रहेको थियो ।