सुडान घोटालामा दोषी ठहरिएका दुई पूर्वप्रहरी प्रमुख जेल चलान

  • ७ असार २०७४, बुधबार
  • 1625 पटक पढिएको

७ असार, काठमाडौं । सुडानको घोटाला प्रकरणमा सर्बोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएका नेपाल प्रहरीका दुई पूर्वआइजीपी सहित चार जनालाई जेल चलान गरिएको छ । पूर्वआईजीपी ओमविक्रम राणा,हेमवहादुर गुरुङ, पूर्व एआईजीपी दिपकसिंह थाङ्देन र पूर्वडीआईजी दिपक श्रेष्ठलाई डिल्लीबजार कारगार चलान गरिएको छ ।

बुधबार सर्बोच्च अदालतमा आत्मसमर्पण गरेका उनीहरुलाई अदालतको अदोश बमोजिम जेल चलान गरिएको हो । सर्बोच्च अदालतका तत्कालिन प्रधान्यायाधीश सुशीला कार्कीको इजलालसले सुडानको डार्फरमा पठाइने एपिसी खरिदमा भ्रष्टाचार गरेको ठहर गर्दै जेल सजाय र बिगो असुल गर्ने फैसला सुनाएको थियो । सर्वोच्चले विशेष अदालतले फैसलामा उल्टाउँदै पूर्व प्रहरी प्रमुख ओमविक्रम राणा, रमेशचन्द ठकुरी र हेमबहादुर गुरुङलाई दोषी ठहर गरेको थियो ।

पूर्व प्रहरी प्रमुख ओमविक्रम राणालाई २ वर्ष कैद र ५० हजार जरिवानाको फैसला सुनाइएको छ । अर्का पूर्व प्रहरी प्रमुखद्वय रमेशचन्द ठकुरी र हेमबहादुर गुरुङलाई जनही एक वर्ष कैद र ४० हजार जरिवानाको फैसला भएको छ । पूर्व प्रहरी प्रमुख रमेशचन्द ठकुरीले भने पक्राउ परेका छैनन् । यस्तै श्याम सिंह थापा र दिपक सिंह थाङ्देनलाई जनही एक वर्ष कैद र ४० हजार जरिवाना तथा दिपककुमार श्रेष्ठ र रविप्रताप राणालाई जनही ६ महिना कैद र ३० हजार जरिवानाको सजाय सुनाइएको थियो । Source: onlinekhabar.com