चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोना संक्रमणा देखीएपछि बेनी अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

  • ७ माघ २०७८, शुक्रबार
  • 751 पटक पढिएको

म्याग्दी ७ माघ । म्याग्दीको बेनी अस्पतालको आकस्मिक बाहेकको सेवा एक हप्ताका लागि बन्द भएको छ। चिकित्सक र स्वास्थ्यकर्मी कोरोना भाइरसबाट संक्रमित भएको अस्पतालमा भिड ब्यवस्थापन गर्न माघ ९ गतेदेखि १५ गतेसम्म सेवा बन्द गरेको हो। अस्पतालमा कार्यरत १५ जना चिकित्सक र स्वास्थ्यकर्मीहरु कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि आइसोलेशनमा बसेका छन्।

एक हप्ताका लागि फिबर क्लिनिक(ज्वरोका बिरामी) र आकस्मिक बाहेकका सेवा बन्द गरिएको बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिनुभयो। ‘जनशक्ति ब्यवस्थापन र भिड बढेकाले एक हप्ताका लागि ओपिडि सेवा बन्द गरेका हौ,’ उहाँले भन्नुभयो ‘आकस्मिक र ज्वरोका बिरामीको उपचारलाई भने निरन्तरता दिएका छौ।’ ५० शैया क्षमताको बेनी अस्पतालले हाल ६४ शैया बराबरको सेवा दिइरहेको छ। कोरोना संक्रमितको उपचारका लागि २० शैया क्षमताको एचडियुसहितको आइसोलेशन सञ्चालन गरेको छ। म्याग्दीका साथै पर्वतको जलजला गाउँपालिकाका दैनिक एक सय जनाको हाराहारीमा सेवा लिने गरेका छन्।

म्याग्दीमा हाल कोरोना भाइरसका सक्रीय संक्रमितको संख्या १५७ जना पुगेको छ। शिक्षक र विद्यार्थीहरुमा कोरोना संक्रमण देखिन थालेपछि विहिबारदेखि जिल्लाभरका विद्यालय माघ १५ गतेसम्मका लागि बन्द भएका थिए। रघुगंगा गाउँपालिकाको कार्यालयको अत्यावश्यक बाहेकको सेवा माघ १२ गतेसम्मका लागि बन्द भएको छ। प्राकृतिक तातोपानीका कुण्ड र धार्मिक स्थलहरु माघ महिना भरका लागि बन्द भएको छ।

जिल्ला प्रशासन कार्यालयले पालिका अनुसार आलोपालो गरेर सेवा दिन थालेको छ। सहायक प्रजिअ धिरेन्द्रराज पन्तले बेनी नगरपालिका, धवलागिरी र अन्नपूर्ण गाउँपालिकाका सेवाग्राहीलाई आइतबार, मंगलबार र बिहिबार, रघुगंगा, मंगला र मालिका गाउँपालिकाका सेवाग्राहीलाई सोमबार, बुधबार र शुक्रबार सेवा दिने समयतालिका बनाएको जानकारी दिनुभयो । फैलिएको कोरोना संक्रमण नियन्त्रणका लागि भिडभाड हुन नदिनका लागि अत्यावश्यक सेवा बाहेक नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, नाबालक परिचयपत्र, संघ–संस्था लगायत बिबिध सिफारिस सम्बन्धी सेवाका लागि पालो लगाइएको हो।