म्याग्दीमा ५८ हजार बढीले लगाए कोभिड विरुद्धको पूर्ण खोप

  • २८ पुष २०७८, बुधबार
  • 1170 पटक पढिएको

म्याग्दी २८ पुस । म्याग्दीमा कोभिड–१९ विरुद्धको पूर्ण खोप ५८ हजार बढीले लगाएका छन् । गत बर्षको माघ १४ गतेदेखि जिल्लामा कोरोना विरुद्धको खोप अभियान सञ्चालन भएको थियो । हालसम्म जिल्लामा ५८ हजार ३ सय ४३ जनाले कोरोनाको पहिलो र दोस्रो मात्राको पूर्ण खोप लगाएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो । जोनसन एण्ड जोनसन (एकपटक मात्रै लगाए हुने) समेत गरि पहिलो मात्राको खोप ६८ हजार ६४३ जनाले लगाएका थिए ।

कोरोना विरुद्धको खोप लगाएपछि खोपकार्ड देखाउँदै जनकल्याण मावि गुर्जाका विद्यार्थीहरु

जिल्लामा १८ बर्षमाथिको लक्षित जनसंख्याको ९४ प्रतिशतले पहिलो मात्रा र ८० प्रतिशतले पहिलो र दोस्रो दुबै गरी पूर्णमात्राको खोप लगाएको लम्सालले बताउनुभयो । पहिलो मात्रा लगाएर दोस्रो नलगाउने १४ प्रतिशत छन् । जिल्लामा १८ बर्षमाथिका लक्षित जनसंख्या ७२ हजार ९ सय ७३ रहेकोमा पहिलो मात्रा लगाएर दोस्रो नलगाउने र दुबै मात्रा नलगाउनेहरु समेत रहेकाले उनीहरुलाई तत्काल स्वास्थ्य संस्थाहरुको सम्पर्कमा आएर खोप लगाउने अनुरोध गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

 

यसैगरि १२ देखि १७ बर्ष उमेर समूहका बालबालिकाहरुलाई समेत खोप अभियान सञ्चालन भएको छ । जिल्लामा हालसम्म ११ हजार २ सय ७८ जना बालबालिकाहरुलाई कोभिड–१९ विरुद्धको मोडर्ना खोपको पहिलो मात्रा लगाईएको स्वास्थ्य कार्यालय प्रमुख लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार, उक्त उमेर समूहका १२ हजार ५४७ जना लक्षित जनसंख्या रहेपनि ९० प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन भने उनीहरुलाई आगामी माघ दोस्रो साता दोस्रो मात्राको खाप लगाउने तयारी गरिएको छ । उहाँले जिल्लामा खोप प्रयाप्त रहेकाले छुटेका लक्षित समूहका नागरिकहरुलाई खोपको पहुँचमा ल्याउन स्थानीय तहहरुले पहल गर्नुपर्ने बताउनुभयो । १८ बर्ष माथिका लक्षित जनसंख्यामध्ये अन्नपूर्णका गाउँपालिकामा ९५ प्रतिशत, रघुगंगामा ६० प्रतिशत, धवलागिरिमा ७७ प्रतिशत, मालिकामा ७६ प्रतिशत, मंगलामा ७५ प्रतिशत र बेनी नगरपालिकामा ८७ प्रतिशतले पहिलो र दोस्रो मात्राको खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।