रघुगंगा गाउँपालिकाको कार्यालय भवन निर्माण
- २४ पुष २०७८, शनिबार
- कमल खत्री
- 1229 पटक पढिएको
म्याग्दी २४ पुस । म्याग्दीको रघुगंगा गाउँपालिकामा कार्यालय भवन निर्माण भएको छ । भाडाका घरबाट सेवा प्रवाह गर्दै आएको गाउँपालिकाले गाउँपालिकाको केन्द्र मौवाफाँटमा भवन निर्माण गरि आफ्नै भवनबाट सेवा प्रवाह गर्न सूरु गरेको हो । दुई तले भवनमा १४ वटा कोठा बनाएर गाउँपालिकाको मुख्य र बिषयगत शाखाहरुको सेवा एउटै भवनबाट दिने व्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । गत बर्ष सभाहलको प्रयोजनका लागि भवन निर्माण सुरु भएपनि कोठा र तला थप गरि सभाहल सहितको कार्यालय भवन निर्माण गरिएको उहाँले बताउनुभयो ।
रु १ करोड ६८ लाख लागत अनुमान गरिएको सभाहल सहितको उक्त कार्यालय भवन निर्माणमा गण्डकी प्रदेश सरकार मार्फत विनियोजन भएर पूर्वाधार विकास कार्यालय मार्फत रु २६ लाख ५७ हजार रकम भुक्तानी भएको र बाँकी बजेट गाउँपालिकाले नै व्यवस्थापन गरेको जनाइएको छ । दुई तला भवन निर्माण भएपछि अहिले माथिल्लो तलामा सभाहल निर्माणको काम भैरहेको छ । भवन र सभाहल निर्माणमा ठेक्का मार्फत रु ७६ लाख र उपभोक्ता समिति मार्फत रु ५३ लाख बराबरको बजेटबाट निर्माणको काम गरिएको जनाइएको छ । ग्राउण्ड तलाबाट मुख्य प्रशासनीक सेवा र पहिलो तलाबाट बिषयगत शाखाको सेवा दिने प्रवन्ध मिलाईएको छ भने माथिल्लो तलामा दुई सय जना क्षमताको सभाहल निर्माण भैरहेको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिनुभयो ।
अहिले गाउँपालिकालले मुख्य प्रशासनीयक र बिषयगत शाखाहरुको सेवा प्रवाहका लागि ६ वटा घर भाडामा लिएर मासिक रु ८५ हजार भाडा तिर्दै आएको छ । आफ्नै कार्यालय भवन निर्माण गरेपछि भने स्वास्थ्य शाखा र शाखागत स्टोर भाडाकै घरमा रहने र अन्य सबै सेवा आफ्नै कार्यालयबाट प्रवाह गर्ने गाउँपालिकाले जनाएको छ । भवन निर्माण भएपछि मासिक ५० हजार बढी घरभाडा बराबरको रकम जोगिने भएको छ ।
भवन निर्माणतर्फको ठेक्का लिएको हिमालय बिल्डर्स प्रा.लि.ले काम सकेको र उपभोक्ता समितिबाट हुने सभाहल निर्माण, नाली व्यवस्थापन र भवन प्राङ्गढ ढलानको काम भैरहेको छ । यसै समितिका पदाधिकारीहरुको नेतृत्वमा गाउँपालिकाको जग्गा व्यवस्थापनको काम समेत गरिएको थियो । मौवाफाँट स्थित कुखुरेमा २३ जना जग्गाधनी मार्फत गाउँपालिकाको प्रशासकीय भवन लगायतको पूर्वाधार निर्माण गर्ने प्रयोजनका लागि साढे १२ रोपनी जग्गा निशुल्क उपलब्ध भएपछि गाउँपालिकाले बजेट विनियोजन गरेर जग्गा सम्माउने, बाटो, विजुली, नाली लगायतको व्यवस्थापनको काम गरेको छ ।
कार्यालय भवनमा ठेक्का मार्फत रु १९ लाख १२ हजार बजेटबाट फर्निचरको व्यवस्थापन गर्ने काम भएको छ भने रु ४ लाख ९० हजार बजेटबाट आल्मुनियम पाटेशनको काम गरिएको छ । कार्यालय व्यबस्थापन र सेवा प्रवाहका लागि थप कम्प्युटर र ल्यापटप सहित सिसी टिभि, डाटा सर्भर, डिजिटल सुचना पाटी, सेवाग्राहीहरुका लागि टेलिभिजन लगायतका सामाग्रीहरुको बन्दोबस्त समेत गर्ने काम भैरहेको गाउँपालिका अध्यक्ष भबहादुर भण्डारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार, भवनमा नागरिक सेवा कक्ष निर्माण, निशूल्क वाईफाईको व्यवस्था र मोवाईल चार्जको स्टेशन समेत बनाइनेछ भने भवन परिसरमा सेवाग्राही प्रतिक्षालय समेत निर्माण गर्ने तयारी गरिएको छ । नयाँ भवनबाट प्रवाह हुने सेवालाई प्रविधि मैत्री बनाउन हरेक शाखामा इन्टरकम सञ्चारको व्यवस्था, डिजिटल नागरिक बडापत्रको प्रयोग गर्नुको साथै योजना व्यवस्थापनलाई सफ्टवेयर प्रविधिमा लैजाने तयारी गरिएको छ । राजश्व तिर्ने कामलाई पूर्ण रुपमा सफटवेयरमा लगेको छ गत बर्षको वैशाख १६ गतेदेखि नै घटनादर्तालाई अनलाईन प्रद्धतिमा रुपान्तरण गरिएको छ ।
कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l