बेनी–जोमसोम–कोरला सडकको काभ्रेभीरमा सडक फराकिलो बनाउन ब्लास्टिङ सुरु
- २३ पुष २०७८, शुक्रबार
- 946 पटक पढिएको
म्याग्दी २३ पुस । बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत काभ्रेभीरमा सडक चौडा गर्न ब्लास्टिङ सुरु गरिएको छ । म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभीरमा बिस्फोटक पदार्थ प्रयोग गरी सडकलाई चौडा बनाउने काम सुरु गरिएको हो ।अक्करे पहाडमा निर्माण भएको सडकलाई फराकिलो बनाउन गत बर्षदेखि नै विष्फोटक पदार्थको प्रयोग गर्न सुरू गरिएको थियो । सबै प्रकृया पुरा गरि ल्याइएको विष्फोटक पदार्थबाट सडकलाई चौडा बनाउने काम सुरु भएको कालिगण्डकी कोरीडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले जानकारी दिनुभयो ।
उहाँका अनुसार, यस अघि नै आयात गरि स्टक रहेको दुई टन विष्फोटक पदार्थको प्रयोग गरि भिरमा सडकलाई फराकिलो बनाउने काम सुरु भएको छ भने थप १० टन विष्फोटक पदार्थको लागि माग गरिएको छ । यस क्षेत्रमा सडकको ट्याक मात्रै निर्माण भएको अक्करे पहाडको करिब १ किलोमिटर ६ सय मिटर सडकमा विष्फोटक पदार्थको प्रयोग गरि ब्लास्टिङ मार्फत सडक फराकिलो बनाउने तयारी गरिएको छ । अहिले करिब साढे ३ मिटर फराकिलो रहेको सडकलाई कम्तीमा ६ मिटरसम्म फराकिलो बनाउने लक्ष्य राखिएको छ । बेनी–जोमसोम–कोरला सडकलाई ११ मिटर चौडा बनाउने मापदण्ड रहेपनि अक्करे पहाड भएकाले काभ्रेभिर क्षेत्रमा भने ६ देखि ७ मिटरसम्म फराकिलो बनाउने बताइएको छ ।
जोमसोम स्थित नेपाली सेनाको बज्रदल गणबाट खटिएका सुरक्षाकर्मीको निगरानीमा शर्मा गजुरमुखी जेभीले शुक्रबार देखि ब्लास्टिङको काम अघि बढाएको आयोजनाले जनाएको छ । ‘‘ यो सडकमा कम्तीमा दोहोरो सवारी आवत जावत हुने गरि फराकिलो बनाउने लक्ष्य राखेका छाँै, निर्माण कम्पनीले थप विष्फोटक पदार्थ ल्याइसकेपछि समयतालिका बनाएर सडक विस्तारको कामलाई तिब्रता दिन भनेका छाँै’’–आयोजना प्रमुख प्रजापतिले भन्नुभयो । काभ्रेभीरमा १६ सय मिटर सडकको ब्लास्टिङ गर्नुपर्नेमा करिब ४ सय मिटरको ब्लास्टिङ यस अघि नै सकिएको छ । काभे्रभीरमा ब्लास्टिङका लागि ३ हजार भन्दा बढी होल खोलि तयारी अवस्थामा राखिएको सडकका सुपरभाईजर ईन्द्रसिंह शेरचनले जानकारी दिनुभयो ।
कालिगण्डकी कोरिडोर अन्तर्गत पर्वतको मालढुङ्गादेखि कोरलासम्मको भौतिक प्रगती ६४ प्रतिशत सम्पन्न भएको जनाइएको छ । यस्तै, बेनी–जोमसोम ७६ किमी सडक अन्तर्गत राहुघाटदेखि तातोपानीसम्मको ६५ प्रतिशत, तातोपानीदेखि घासासम्मको ६० प्रतिशत, घासादेखि कोवाङसम्मको ८५ प्रतिशत र कोवाङदेखि जोमसोमसम्म ६३ प्रतिशत भौतिक प्रगती भएको आयोजनाले जनाएको छ । यस्तै मुस्ताङको घाँसादेखि कोवाङ १६ किमी र कोवाङदेखि जोमसोम १८ किमी सडक मध्ये दुबै गरी २२ किमी सडकको कालोपत्रे भईसकेको छ । २०७४ सालदेखि बेनी–जोमसोम ७६ किमीमा ४ खण्ड र जोमसोम–कोरला ११० किमीमा ७ खण्डमा ठेक्का लगाएर काम अघि बढाईएकोमा मुस्ताङ खण्डको तुलनामा म्याग्दी खण्डको काममा ढिलासुस्ती भएको छ ।