बलियो अभिभावकत्व नहुँना मुनाका एउटै परिवारका ६ बालबालिकाको पढाईमा सकस

  • १४ पुष २०७८, बुधबार
  • 899 पटक पढिएको

म्याग्दी १४ पुस । एकतले साँघुरो घर, उस्तै उमेरका छोराछोरीलाई हुर्काउँदैछन, टेकबहादुरका दम्पती । धवलागिरि गाउँपालिका–३ मुनाका टेकबहादुर परियार र उहाँकी पत्नी कमला आफैमा सक्षम छैनन् । वाक अपांगता भएका उनीहरु गाउँमा अरुलाई काममा सघाउने र मागेर घरखर्च चलाउने परिवारको रुपमा परिचित छन् । आर्थिक अवस्था कमजोर रहेको कारण परियार दम्पतीका ६ छोराछोरीलाई अहिले पढाई खर्चको सकस परेको छ ।


पाँच भाई छोरा र दुई छोरी मध्ये जेठी छोरी मनुले पढ्न नसकेकै अवस्थामा सानै उमेरमा विवाह गरेपनि अन्य पाँच भाई र एक बहिनी स्कुल उमेरकै हुन् । मुनाकै धवलागिरि आधारभुत विद्यालयको कक्षा ८ मा अध्ययन गर्ने जेठा छोरा खिमबहादुरले बाबा आमाको नियमित आम्दानी नभएको र आफुहरुले काम गर्न सक्ने नहुँदा पढाईखर्च जुटाउन धौधौ भएको बताउनुभयो । ‘‘घरमा बुबा आमाले केहि कमाई गर्न सक्नुहुन्न, हामी स्कुल आउँछौँ, घरखर्च चलाउनपनि समस्या छ, हामी जेनतेन स्कुल आउने गरेका छौँ, माईलो भाईले बिचैमा स्कुल छोड्यो, हामीले पनि कहिलेसम्म पढ्ने हो निधो छैन,’’–उहाँले भन्नुभयो ।
खिमबहादुरका भाई मनेले दुई कक्षामा अध्ययन गर्दागर्दै स्कुल छाडेका छन् । बहिनी जमुनाले कक्षा ४, भाई कुसलले कक्षा २ र संगीनले बालकक्षामा पढ्छन् । कान्छो भाई इसान घरमै आमा संग बस्छन् । विपन्न र अपांगता समेत रहेका अभिभावकले बालबच्चाको सामान्य लत्ताकपडा र स्टेशनरी समेत जुटाउन सक्ने अवस्था नभएकाले उनीहरुको पढाई प्रभावित हुने देखिएको विद्यालयका सहायक प्रधानध्यापक रुपेश सुवेदीले बताउनुभयो ।

‘‘अभिभावक शिक्षित नहुँदा धेरै बालबच्चा जन्माउने तर आधारभुत शिक्षाको अवसर दिन नसक्ने अवस्था आएको देखिन्छ, घरपरिवारको अवस्था दयनिय छ, कम्तीमा सबै बालबच्चालाई राम्रो शिक्षा दिन सकियो भने उनीहरुको भविश्य अन्धकार हुने थिएन, त्यसको लागि यो परिवारलाई सहयोगको खाँचो छ’’–सुवेदीले भन्नुभयो । बालबच्चाको बार्षिक रुपमा शैक्षिक सामाग्री, लत्ताकपडा लगायतको खर्च जुटाउने प्रवन्ध गर्न सके बिचैमा स्कुल छाडेका बालकलाई समेत स्कुलमा ल्याउन सकिने भएकाले विद्यालयले परियारका बालबच्चाको शिक्षामा सघाउन आह्वान गरेको विद्यालयका प्रअ मनबहादुर पुनले बताउनुभयो ।