बेनी–जोमसोम–कोरला सडक : मुस्ताङमा कालोपत्रे, म्याग्दीको काम सुस्त

  • ११ पुष २०७८, आईतवार
  • 1479 पटक पढिएको

म्याग्दी, ११ पुस । बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तरगत म्याग्दी खण्डको काम धीमा गतिमा अघि बढेको छ । मुस्ताङ खण्डमा कालोपत्रे र ग्राभेलको काम धमाधम भैरहँदा म्याग्दी खण्डमा भने निर्माण व्यवसायिहरुले आलटाल गरिरहेका छन् । मुस्ताङखण्डमा कैकु खोलादेखि खन्तीसम्मको २०किलोमिटर सडक अधिकाँश कालोपत्रे गरिएको छ । यो खण्डको सडक कालोपत्रेका लागि शर्मा गजुरमुखी जेभीसंग ५४ करोड ३० लाख रुपैयाँमा ठेक्का सम्झौता भएकोमा अहिलेसम्म ८० प्रतिशत भौतिक प्रगति भएको छ ।


मुस्ताङको जोमसोमदेखि कागबेनीसम्मको १३ किलोमिटर ग्राभेल सडकलाई समेत कालोपत्रेका लागि ठेक्का सम्झौता भैसकेको छ । मुस्ताङ खण्डको तुलनामा म्याग्दी खण्डको प्रगति नगन्य छ । बेनी–जोमसोमको ७६ किलोमिटर लामो सडक जम्मा ६५ प्रतिशत प्रगति हुँदा जोमसोमदेखि–कोरला सम्मको ११० किलोमिटर लामो सडकखण्डको भौतिक प्रगति ८५ प्रतिशत पुगेको आयोजना प्रमुख जगत प्रजापतिले जानकारी दिनुभयो ।


बेनी–जोमसोम खण्डका चार वटा प्याकेजमध्ये मुस्ताङमा पर्ने कैकुखोलादेखि खन्तीसम्मको प्रगति सन्तोषजनक छ । खन्तीदेखि जोमसोमसम्मको सडकको जिम्मा लिएको कोसी पप्पु गौरी पार्वति एण्ड न्यौपाने जेभिलाई काम सक्न ताकेता गरिएको आयोजनाले जनाएको छ । यस खण्ड अन्तरगत म्याग्दी क्षेत्रमा पर्ने सडकको काम कुनैपनि सन्तोषजनक छैन् । आगामी चैतसम्म म्याद थप भएपनि यस खण्डमा निर्माण कम्पनिहरुले उल्लेख्य मात्रामा जनशक्ति र मेसिन उपकरण परिचालन गर्न सकेका छैनन् ।
म्याग्दीको गलेश्वरदेखि मुस्ताङका्े जोमसोमसम्मको ७५ किलोमिटर सडक कालोपत्रे सहित स्तरोन्नतीका लागि ठेक्का लगाइएको थियो । ‘म्याग्दी खण्डमा काम गर्न निकै चुनौतिपूर्ण भयो, रुप्सेखोलादेखि लेतेसम्म, गलेश्वर, बेगखोला, तातोपानी लगायतका क्षेत्रमा बाढी, पहिरो र नदी कटानले निर्माण कार्यमा प्रत्यक्ष प्रभाव पारेको छ, निर्माण कम्पनीहरुको ढिलासुस्ती पनि समयमै काम नहुुनुको मुख्य कारणहरु हुन’’–आयोजना प्रमुख प्रजापतिले भन्नुभयो ।

हिउँदयाममा समेत म्याग्दी खण्डको काममा प्रयाप्त मजदुर र मेसिन उपकरण कार्यक्षेत्रमा परिचालन हुन सकेको छैन् । गलेश्वरदेखि– नारच्याङपुलसम्मको २० किलोमिटर सडकको जिम्मा लिएको शर्मा युनाइटेड जेभिले ६५ प्रतिशत मात्रै भौतिक प्रगति गरेको छ । उसले गरेको यो प्रगतिमा गत बर्षातमा बाढी पहिरोले क्षति पु¥याएको छ । तर अहिलेपनि कम्पनिले कामलाई तिब्रता दिन सकेको छैन् ।

नारच्याङपुलदेखि मुस्ताङको घाँसा स्थित कैकुखोलासम्मको १७ किलोमिटर सडकको ठेक्का लिएको शर्मा गजुरमुखीले अहिलेसम्म ६० प्रतिशत मात्रै काम गरेको छ । यस खण्डमा पर्ने अक्करे पहाड ‘काभ्रेभिर’मा विष्फोटक पदार्थ प्रयोग गरि सडक विस्तार गर्नुपर्नेछ । यस खण्डमा अहिले पूर्ण रुपमा काम बन्द छ । २०७४ जेठमा ६३ करोड ५२ लाखमा २०७६ मंसिरमा काम सम्पन्न गर्नेगरि सम्झौता गरेको यस कम्पनीको म्याद आगामी चैतसम्म मात्रै थप भएको छ । काभ्रेभिरमा विष्फोटक पदार्थको प्रयोग गरि सडक विस्तारका लागि सब कन्ट्याक्टर कम्पनीलाई कार्यक्षेत्रमा परिचालन गर्ने तयारी गरिएको शर्मा गजुरमुखीका प्रतिनिधि नरेन्द्र न्यौपानले जानकारी दिनुभयो । ‘‘ तत्काल मेसिनहरु साइडमा पठाएको छौ, काभ्रे भिरमा चार महिनामा काम सक्ने गरि साइड कन्याट्याक कम्पनीसंग सम्झौता गरेका छौँ, अन्य कामलाई चैतसम्म सम्पन्न गर्ने हाम्रो जोडबल छ’’– उहाँले भन्नुभयो ।

गलेश्वरदेखि नारच्याङपुल सम्मको सडकमा समेत न्यून जनशक्ति परिचालन भएका छन् । तातोपानी र बेगखोला क्षेत्रमा थोरै जनशक्ति र मेसिन परिचालन गरेर काम सुरु भएपनि हिउँदयाममा हुनुपर्ने तयारीका साथ निर्माण कम्पनीले काम अघि बढाएको छैन् । म्याग्दी खण्डको काममा भएको ढिलासुस्तीबारे पटक पटक आयोजना र निर्माण कम्पनीहरुलाई ताकेता गरिएपनि उल्लेख्य मात्रामा कामलाई तिब्रता दिन नसकेको म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले बताउनुभयो । बेनीदेखि जोमसोम खण्डको काम सम्पन्न नहुँदा म्याग्दीको अन्नपूर्ण गाउँपालिका र सिंगो मुस्ताङ जिल्लाबासी र यस क्षेत्रको भ्रमणमा आउने पर्यटकहरुले समेत सास्ती व्यहोर्दै आएका छन् ।

जोमसोमको पुथा एयरपोट गाउँका पूर्व गाउँमुखिमा रहनुभएका शेरबहादुर गुरुङले बेनी–जोमसोम–कोरला सडक आयोजना समयमै सम्पन्न नहुँदा बर्खायाममा सास्ती व्यहोर्नुपरेको गुनासो गर्नुभयो । ‘‘ मुस्ताङी जनताले मात्रै होइन यस क्षेत्रको भ्रमणमा आउने पर्यटक र मुक्तिनाथको दर्शन गर्न आउने हजारौँ भक्तजनहरुले सास्ती व्यहोर्नुपरेको छ, ठेकेदार कम्पनीहरुलाई आयोजना र नेपाल सरकारले समेत आबश्यक ताकता गरेर कामलाई गति दिनतर्फ ध्यान दिनुपर्ने देखिएको छ’’–उहाँले भन्नुभयो ।