‘सन्तनेता किसुनजी’ लोकार्पण

  • ८ पुष २०७८, बिहीबार
  • 1029 पटक पढिएको

बेनी, ८ पुस । नेपाली कांग्रेस म्याग्दीका पुर्वसहसचिव एवम् निर्वतमान प्रवक्ता अजय मिलन श्रेष्ठ द्वारा लिखित ‘सन्त नेता किसुनजी नामक पुस्तक लोकार्पण गरिएको छ । पुर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको ९८ औं जन्मजयन्तीको अवसरमा बेनी नगरपालिका–१ रत्नेचौरमा नेपाली कांग्रेस म्याग्दीका उपसभापति केबी भण्डारी, पूर्व सहसभापति नेत्रबहादुर महतले एक समारोहको बीचमा लोकार्पण गरेका छन् ।

उक्त पुस्तक जिल्ला उपसभापति भण्डारी रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीका माता स्व. नैनकली भण्डारीप्रति समर्पित रहेर प्रकाशित गरिएको थियो । म्याग्दीका साहित्यकार समेत रहेका श्रेष्ठले सादा जीवन उच्च विचारका कारण जनताका मनमनमा बस्न सफल स्वर्गीय किसुनजीले अंगालेको अहिंसावादी नीति सबैका लागि प्रेरणाको स्रोत बनेकाले पुस्तक प्रकाशित गरेको बताए ।

स्वर्गीय भट्टराईलाई सादगी जीवन शैली अपनाउने निःस्वार्थी राजनीतिज्ञको रुपमा स्मरण गर्ने गरिन्छ। सरल जीवन व्यथित गर्ने भट्टराई आफ्नो आध्यत्मिक चिन्तनका कारण सबैमाझ लोकप्रिय थिए। पुस्तक विमोजन कार्यक्रमको स्वागत पूर्व इकाई सभापति बसन्त बोगटी, अध्यक्षता वडा कार्यसमिति सभापति कमल थापा र सञ्चालन महाधिवेशन प्रतिनिधि विक्रम बोगटीले गरेका थिए । सोही अवसरमा कार्यक्रममा चन्द्रबहादुर महतको अध्यक्षतामा १५ सदस्यीयत नेपाली कांग्रेसको रत्नेचौर टोल कार्य समिति गठन गरिएको छ ।