जोमसोम–कोरला सडक अन्तिम चरणमा
- ७ पुष २०७८, बुधबार
- 922 पटक पढिएको
म्याग्दी, ७ पुस । राष्ट्रिय गौरवको कालिगण्डकी कोरिडोरको बेनी– जोमसोम– कोरला सडक आयोजना अन्तरगत मुस्ताङको जोमसोम बजारदेखि नेपाल र चिनको सिमानसम्म सडक स्तरोन्नतीको काम अन्तिम चरणमा रहेको छ। मुस्ताङको जोमसोमदेखि कोरला नाकासम्म रहेको १ सय १० किलोमिटर सडकलाई ७ खण्ड मध्ये ६ खण्ड सम्पन्न भएको छ भने १ खण्डको काम अन्तिम चरणमा पुगेको छ ।
उक्त खण्डको सडकलाई दुई लेनको ग्राभेल बनाउन बेनी–जोमसोम–कोरला सडक आयोजनाले विसं २०७३ असोजदेखि सातवटा खण्डमा ठेक्का लगाएको थियो । जोमसोम–कोरला सडक स्तरोन्नतिका लागि दुई अर्ब छ करोड रूपैयाँ बजेट विनियोजन भएको थियो ।
झैटेदेखि चराङसम्मको १९ किलोमिटर, छोसेरदेखि कोरलासम्मको १४ किलोमिटर, जोमसोम देखि ताङ्वेसम्मको १८ किलोमिटर, ताङ्वेदेखि चैलेसम्मको ११ किलोमिटर, चैलेदखि भेनासम्म ११ किलोमिटर र भेनादेखि झैटेसम्मको १२ किलोमिटर सडक स्तरोन्नतीको काम सकिएको आयोजना प्रमुख जगत प्रजापतिले बताउनुभयो ।
उहाँका अनुसार, चराङदेखि छोसेरसम्मको २५ किलोमिटर लामो सडकमा ६५ प्रतिशत मात्रै प्रगति भएको छ । यस खण्डको जिम्मा लिएको तामाङ गौरी पार्वति कोसी न्यौपाने जेभिले सडक स्तरोन्नतीको काम समयमै सम्पन्न नगरेपछि आयोजनाले बैँक जमानत जफत गरेको छ । आयोजनाका अनुसार, सडक अलपत्र पारेपछि निर्माण कम्पनिको रु १ करोड ९ लाख बैंक जमानत जफत गरिएको हो । ‘‘ढिलासुस्तीले प्रभावित भएको चराङ–छोसेर खण्डलाई गति दिन निर्माण व्यवसायीलाई ताकेता गर्दा समेत कुनै पहलकदमी लिएन, यस खण्डको जिम्मा लिएको कम्पनीलाई कोभिडका कारण अन्तिम पटकका लागि चैत महिनासम्मको मात्रै समयसिमा थप भएको छ, विगत तीन बर्षदेखि काम अलपत्र छोडेपछि बैँक जमानत जफतसम्म पुगेका हौँ’’– आयोजना प्रमुख पराजुलीले भन्नुभयो