बेगखोला बालश्रममुक्त वडा घोषणा

  • ७ पुष २०७८, बुधबार
  • 1035 पटक पढिएको

म्याग्दी ७ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलालाई बालश्रममुक्त वडा घोषणा गरिएको छ । बुधवार बेगमा आयोजित समारोहमा स्थानीय जनप्रतिनिधि, शिक्षक, आमा समूह, युवा क्लब, बालक्लब लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले बालबालिकाहरुलाई कानुन विपरितको बालश्रममा प्रयोग नगर्ने प्रतिबद्धता सहित बालश्रममुक्त वडा घोषणा गरिएको हो ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजाले बालबालिकाहरुलाई कानुन विपरितको श्रममा लगाउन नपाईने बताउँदै उनीहरुका लागि पढाईमा उपयुक्त वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो । उहाँले वडाभित्र रहेका सबै बालबालिकाहरुलाई कडा श्रममा नलगाउने प्रतिबद्धतालाई पुरा गर्न हरेक घरपरिवार प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा वडा अध्यक्ष बिलबहादुर फगामीले बेगखोला वडाभित्रका बालबालिकाहरुको अधिकार सुरक्षित गराउन आबश्यक सहजीकरण गरिने बताउनुभयो । कार्यक्रममा गाउँपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख सावित्री सुवेदी, वडा सचिब सरस्वती आचार्य, महादेव माविका प्रअ दुतबहादुर गर्वुजा, कालिका आधारभुत विद्यालयका शिक्षक घनबहादुर फगामी, कृष्ण आधारभुत विद्यालयका शिक्षक कर्मलाल रुचाल, पार्वती आधारभुत विद्यालयका शिक्षक थानमायाँ गर्वुजा लगायतले बालबालिकालाई कडा श्रममा लगाउने काम कानुन र सामाजिक न्याय बाहिर हुने भएकाले बालश्रममुक्त वडा घोषणालाई व्यवहारमा उतार्न सबै सरोकारवाला प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

रघुगंगा गाउँपालिकाले बालश्रममुक्त स्थानीय तह घोषणा सम्बन्धि कार्यविधि २०७७ मा भएको व्यवस्था अनुसार, गाउँपालिकालाई बालश्रममुक्त पालिका बनाउने अभियान सञ्चालन गरेको छ । पालिकालाई बालश्रममुक्त बनाउनुअघि वडाहरुबाट बालश्रममुक्त घोषणा अभियान सञ्चालन गरेको जनाएको छ । बालश्रममा कोहि पनि बालबालिका नहरेको आधार तयार भएपछि वडा समितिको सिफारिसमा वडा र कार्यपालिकाको सिफारिसमा गाउँसभा मार्फत पालिकालाई बालश्रमुक्त घोषणा गर्न सकिने प्रावधान रहेको छ ।

रघुगंगामा बालश्रमको जोखिममा रहेका ११ सय घरधुरी पहिचान गरि सर्वेक्षण गर्दा कुनैपनि बालबालिकाहरु बालश्रममा नरहेको तर १५० जना बालबालिका बालश्रमको जोखिममा रहेको पाईएको थियो । जोखिमा रहेका बालबालिकाहरुलाई झोला लगायत पोशाक र शैक्षिक सामाग्री सहयोग गर्ने र उनीहरुका अभिभावकहरुलाई दिगो रोजगारितर्फ प्रेरित गर्न शिपमुलक तालिम सञ्चालन गर्ने तयारी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार, पुस महिनाभित्र ८ वटै वडालाई बालश्रममुक्त घोषणा गर्ने तयारी गरिएको छ । गाउँपालिकाले बालश्रम सामाजिक अपराध भएको र बालबालिकाहरुलाई कडा परिश्रम गर्नुपर्ने र कानुनले बन्देज लगाएको काममा लगाउन नहुने सन्देश सहितको चेतनामुलक ब्रोसर र बोर्डहरु मार्फत समेत सचेतना जगाउने काम गर्दै आएको सुवेदीले जानकारी दिनुभयो ।