अनुदानमा बनेका ‘होमस्टे’ व्यक्तिगत सम्पतिमा परिणत

  • ६ पुष २०७८, मंगलवार
  • 590 पटक पढिएको

 

म्याग्दी, ६ पुस । गण्डकी प्रदेश सरकारको अनुदानमा तीन वर्षअघि म्याग्दीमा खोलिएका अधिकांश होमस्टे (घरबास) बन्द भएका छन् । एक जना पनि पर्यटक र पाहुनाले सेवा पाउन नसकेको होमस्टेमा भएको राज्यको लाखौँ लगानी बालुवामा पानी हालेसरह बनेको छ । पाहुनाको बसोबासको बाहनामा बनाइएका पूर्वाधार पहुँचवालाको व्यक्तिगत तथा घरायसी प्रयोगमा सीमित भएका हुन् ।

गण्डकी प्रदेश सरकारको तत्कालीन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०७५÷७६ मा म्याग्दीका १० वटा होमस्टेलाई रु ९३ लाख चार हजार ८०० अनुदान बाँडेको थियो । कूल लागतको ३० प्रतिशत लागनी गरेको हिसाब देखाएर अनुदान हत्याएका होमस्टेले पर्यटक लोभ्याउन र ग्रामीण पर्यटनको विकासमा योगदान गरेको पाइँदैन । होमस्टेका लागि भनेर बनाइएका सामुदायिक भवन, गोलघर, शौचालय, शयनकक्ष र बेड विस्तारा अनुदान पाएकाको व्यक्तिगत सम्पतिमा परिणत भएका छन् ।

धवलागिरि गाउँपालिका–७ ताकमको हजुरको सामुदायिक होमस्टेका सञ्चालक कृष्णबहादुर भण्डारीले आधारभूत पूर्वाधार बनाए पनि होमस्टे सञ्चालनका लागि प्रचार–प्रसार, तालिम र व्यवस्थापकीय तयारी आवश्यक देखिएको बताए । रघुगङ्गा गाउँपालिकाको झिँ होमस्टेले ९ लाख ३९ हजार, एकता होमस्टे मौवाफाँटले ९ लाख ६० हजार, मिलन होमस्टे रायखोरले ९ लाख ७३ हजार र रानीपौवा होमस्टेले ९ लाख ७० हजार अनुदान लगेका थिए ।

ताकमको हजुरको होमस्टेले ७ लाख १३ हजार ८००, देवीस्थानको गाईखर्क होमस्टेले ९ लाख ७२ हजार, बरङ्जाको झाँक्रीपानी होमस्टेले ८ लाख ९२ हजार, टोड्के होमस्टेले ९ लाख ९० हजार २००, नारच्याङ बेँसीगाउँ होमस्टेले ९ लाख ४२ हजार र मुना होमस्टेले ९ लाख ५२ हजार अनुदान पाएका थिए ।

प्रदेश सरकारअन्तर्गतको पर्यटन कार्यालय पोखराले यसअघि अनुदान पाएका होमस्टेलाई स्तरोन्नतिका लागि अनुदान उपलब्ध गराउन हालै प्रस्ताव मागेकामा म्याग्दीका तीनवटाको मात्र प्रस्ताव परेको छ । आवेदन सङ्कलन गरेको घरेलु तथा साना उद्योग कार्यालय म्याग्दीका प्रमुख नन्दलाल पौडेलले झिँ, झाँक्रीपानी र हजुरको सामुदायिक होमस्टेले मात्र स्तरोन्नति कार्यक्रम माग गरेका बताए ।