बेनी बजारको सडकमा एकतर्फी यातायात सञ्चालन

  • १ पुष २०७८, बिहीबार
  • 791 पटक पढिएको

म्याग्दी १ पुस। सदरमुकाम बेनी बजारभित्रको सडकमा आजदेखि एकतर्फी यातायात सञ्चालन गर्न थालिएको छ । बेनी नगरपालिकाको कार्यालयमा मङ्सिर १४ गते भएको सरोकारवालाको बैठकको निर्णयअनुसार नगरपालिकाको वडा नं ७ र ८ मा पर्ने बजारभित्रका सडकमा एकतर्फी यातायात सञ्चालन गर्न लागिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्द्रबहादुर नेपालीले सवारी साधनको बढ्दो चापसँगै बजारभित्र हुने जाम हटाउन, यातायात आवत जावतलाई व्यवस्थित, सुरक्षित बनाउन र दुर्घटना न्यूनीकरण गर्न एकतर्फी यातायात सञ्चालन सुरु गरिएको जानकारी दिए ।

उनका अनुसार बेनी बजारभित्र सञ्चालन हुने सवारी साधनले अबदेखि क्याम्पसचोकदेखि गणेशटोल, सङ्गमचोक, बालमन्दिरचोक, जिल्ला प्रशासन कार्यालय अगाडिको चोक, हुलाकचोक, न्युरोड हुँदै पुन क्याम्पसचोक पुग्ने गरी सडक प्रयोग गर्नुपर्नेछ । “­नगरपालिका, प्रशासन, प्रहरी र उद्योग वाणिज्य सङ्घको बैठकले गरेको निर्णय कार्यान्वयनमा लगिएको हो”, नेपालीले भने “साँघुरो सडकमा दोहोरो सवारी आवतजावत गर्दा जाम र दुर्घटना हुने समस्या न्यूनीकरणका लागि एकतर्फी यातायात सञ्चालन गर्ने व्यवस्था मिलाइएको हो ।”