जेसीज कपको फाईनलमा न्यु वेष्ट प्वाईन्ट र बुद्ध एकेडेमी

  • २५ मंसिर २०७८, शनिबार
  • 1194 पटक पढिएको

म्याग्दी २५ मंसिर । म्याग्दी जेसीजद्वारा आयोजित अन्तरमावि नमस्ते ट्रेड होटल याक जेसीज कप फुटबल प्रतियोगिताको फाईनलमा न्यू वेष्ट प्वाईन्ट र बुद्ध एकेडेमी पुगेका छन् । ‘खेलाडीको प्रतिभा प्रस्फुटनमा हाम्रो पहल–जेसीजकप फुटवल’ भन्ने मूल नाराका साथ सञ्चालन भएको १९ औँ संस्करणको नमस्ते ट्रेड होटल याक जेसीज कप फुटबल प्रतियोगिताको फाईनलमा पुगेका दुई विद्यालयको प्रतिस्पर्धा आईतबार खुल्लामञ्चमा हुनेछ ।


खुल्लामञ्चमा शनिबार भएकोे सेमिफाईनलमा न्यु वेष्ट प्वाईन्ट विद्यालयले केवी एकेडेमी दरवाङलाई शुन्यका विरुद्ध ३ गोलले पराजित गरेको थियो । त्यस्तै फाईनलमा पुगेको बुद्ध एकेडेमीले किसानी मावि धारापानीलाई शुन्यका विरुद्ध २ गोलले पराजित गरेको म्याग्दी जेसिजका अध्यक्ष विरेन्द्र श्रेष्ठले जानकारी दिए ।


प्रतियोगितामा बिजेता विद्यालयलाई जेसीजकप रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु ५२ हजार २२२ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद रु ३२ हजार २२२ पुरस्कार प्रदान गरिने छ । उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, स्ट्राइकर, मिडफिल्डर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता तथा राईजिङ प्लेयरलाई विभिन्न अवार्डबाट नगद रु २ हजार ५ सयको साथमा ट्रफि, मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिनेछ भने अनुशासित टिमलाई नगद रु ७ हजार ७ सय ७७ को साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने मुल संयोजक कुमार बानियाँले जानकारी दिए ।

जेसीजकप फुटवल म्याग्दीमा विद्यालय तहमा हुने जिल्ला स्तरीय चर्चित फुटवल प्रतियोगिताको मुख्य प्रायोजक सन्तोष श्रेष्ठ स्मृति कोष रहेको छ। जेसिज कप प्रतियोगितामा जिल्लाका २१ विद्यालयको सहभागिता रहेको थियो ।