मिडिया सोसाइटीको तेस्रो अधिवेशन टोड्केमा, अध्यक्षमा खत्री चयन ( तस्बिर सहित)

  • २४ मंसिर २०७८, शुक्रबार
  • 711 पटक पढिएको

म्याग्दी, २४ मङसिर । म्याग्दी मिडिया सोसाइटीको अध्यक्षमा कमल खत्री सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको छ । शुक्रवार म्याग्दीको पर्यटकीय स्थल टोड्केमा आयोजित संस्थाको पाँचौ वार्षिक साधारणसभा तथा तेस्रो अधिबेशनबाट खत्रीको अध्यक्षतामा नेतृत्व चयन भएको हो । निवर्तमान अध्यक्ष समेत रहनुभएका खत्री बेनीबाट प्रकाशन हुने समृद्ध साप्ताहिकको प्रकाशक/सम्पादक हुनुहुन्छ ।

 

समितिको उपाध्यक्षमा हरिकृष्ण गौतम, सचिबमा अमित विश्वकर्मा, कोषाध्यक्षमा ठाकुर प्रसाद आचार्य र सहसचिबमा राकेश शर्मा चयन हुनुभएको छ । त्यसैगरि सदस्यहरुमा सन्तोष गौतम, धिरन खत्री, साधन राम्जाली मगर, सुदर्शनकुमार श्रेष्ठ र निर्मल खत्री रहनुभएको छ ।

वि.स. २०७४ मा म्याग्दीमा श्रमजिवि पत्रकारहरुद्धारा सञ्चालित सञ्चार माध्यम तथा जिल्लामा रहेका अन्य सञ्चार माध्ययमको व्यवस्थापकिय भूमिकामा रहेका श्रमजिवि पत्रकारहरु आबद्ध सोसाइटीले जिल्लामा स्थानीय तह र सरकारी कार्यालयले सञ्चार माध्यमलाई बिनियोजन गरेका बजेट स्थानीय सञ्चार माध्यम मार्फत परिचालन, सार्वजनिक सुनुवाइ, सञ्चार क्षेत्रसंग सम्बन्धित बृत्तचित्र निर्माण, पत्रकारिता तालिम सञ्चालन, पत्रकार अवलोकन भ्रमण लगायतका कार्यहरु गर्दै आएको छ ।

साधारण सभाको उद्घाटन गर्दै रघुगंगा गाउँपालिका–५ का वडा अध्यक्ष मनबहादुर शेरमञ्जाले क्रियाशिल पत्रकारहरु आबद्ध म्याग्दी मिडिया सोसाईटीको अग्रसरतामा ग्रामिण भेगसम्म पुगेर लुकेर रेहका सम्भावनाहरुको खोजी र उत्थानमा दिएको योगदानको रचनात्मक रहेको बताउनुभयो ।

कार्यक्रममा टोड्के हिल रिसोर्टका सञ्चालक भिम शेरचनले बेनी नगरपालिका, मंगला र रघुगंगा गाउँपालिकाको सिमा क्षेत्रलाई समेटिएको टोड्के क्षेत्रको पर्यटन प्रवद्र्धनमा पत्रकारहरुले खेलेको भूमिकाको प्रसंसा गर्नुभयो । उहाँले सोसाईटीले टोड्केमा साधारण सभा आयोजना गरेर यस क्षेत्रका प्रचार प्रसार र प्रवद्र्धनमा थप टेवा पु¥याएको बताउँदै धन्यबाद ज्ञापन गर्नुभयो ।

संस्थाका अध्यक्ष कमल खत्रीको अध्यक्षता, उपाध्यक्ष हरिकृष्ण गौतमको स्वागत र सदस्य एवम् नेपाल पत्रकार महासंघका जिल्ला सचिब सन्तोष गौतमले शुभकामना मन्तव्य राख्नुभएको थियो । संस्थाका सचिब विश्वकर्माले प्रगति र कोषाध्यक्ष ठाकुर प्रसाद आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यसैबिच सोहि अवसरमा म्याग्दीका पत्रकार हरिकृष्ण गौतमलाई शुक्रबार “मिडिया सोसाइटी अवार्ड–२०७८” प्रदान गरिएको छ । जिल्लामा एक दशक बढी समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल भएको र संस्थाको गतिविधिमा योगदान दिएको भन्दै साधारणसभाको अवसरमा संस्थाका उपाध्यक्ष समेत रहनुभएका गौतमलाई नगद रु. सात हजार ८६५ सहित पुरस्कृत गरिएको हो । संस्थाका अध्यक्ष खत्री र रघुगंगा गाउँपालिका–५ का वडा अध्यक्ष मनबहादुर शेरपुञ्जाले गौतमलाई नगद, सम्मानपत्र प्रदान र दोसल्ला ओढाउनुभएको थियो ।

बेनीबाट प्रकाशन हुने बेनी साप्ताहिक र बेनी अनलाइनका प्रकाशक गौतम नागरिक दैनिक लगायतका सञ्चार माध्यममा आवद्ध हुनुहुन्छ । सोसाईटीले स्थापना गरेको रु रु. दुई लाख पाँच हजारको अक्षयकोषको ब्याजबाट जिल्लामा दश वर्षदेखि काम गरेका एक जना संस्थाका सदस्य पत्रकारलाई पुरस्कृत गर्ने मापदण्ड बनाएको छ । सो पुरस्कारबाट यसअघि ठाकुरप्रसाद आचार्य, अमित विश्वकर्मा र प्रताप बानिया सम्मानित भइसक्नुभएको छ । प्रत्येक बर्ष दश प्रतिशतका दरले पुरस्कारको राशी बढाउने गरिएको छ । यसैगरी संस्थामा आवद्ध पत्रकारहरुको स्वास्थ्य बिमा गरेको छ । समस्यामा परेका पत्रकारहरुलाई आपतकालिक कोषको ब्याजबाट नगद सहयोग गरेको छ । अधिबेशनको अवसरमा प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता, स्थानीय सञ्चार माध्यमको सवलीकरण र पर्यटन प्रर्वद्धन सम्बन्धी छ बुँदे टोड्के घोषणापत्र जारी गरेको छ ।