विद्यालयको पुर्वाधार निर्माण गराउन जग्गा सहयोग

  • १९ मंसिर २०७८, आईतवार
  • 645 पटक पढिएको

म्याग्दी, १९ मंसिर । म्याग्दीको मालिका गाउँपालिका-२ रूम बेलीका एक परिवारले विद्यालयको भौतिक पूर्वाधार र खेलमैदान निर्माणका लागि करिब पाँच रोपनी जग्गा दान गरेका छन्। जग्गाविहिन अवस्थामा रहेको स्थानीय ज्ञान विकास आधारभुत विद्यालयलाई बयोबृद्ध समाजसेवी शिवलाल पुनको परिवारले खेतीयोग्य ४ रोपनी १० आना जग्गा विद्यालयलाई निःशुल्क हस्तान्तरण गरेका हुन् ।शनिबार आयोजित जग्गा हस्तान्तरण तथा भवन, खेलमैदान शिलन्यास कार्यक्रमका प्रमुख अतिथि मालिका गापाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्मामार्फत विद्यालयलाई जग्गादाताले लालपुर्जा हस्तान्तरण गरेका थिए।


छिमेकी गाउँ जेममा रहेको देउराली आधारभुत विद्यालयको शाखाको रुपमा मान्यता प्राप्त विद्यालयमा हालसम्म एक टुक्रा जमिन नभएकाले आफ्नै भवन र खेलमैदानका लागि आवश्यक जग्गा सहयोग गरिएको जग्गादाताले बताएका छन्। सोही अवसरमा बोल्दै प्रमुख अतिथि पौडेलले स्थानीयको पहलमा प्राप्त जग्गाले विद्यालयको संरचना बनाउन सहज हुने बताए। ‘सामुदायिक विद्यालयमा समुदायको ठूलो लगानी छ,‘ शैक्षिक उन्नयनका लागि समुदायस्तरबाट भएको प्रयासमा हाम्रो साथ रहन्छ’ पौडेलले भने। उनले एकल परिवारबाट सडक नजिकै रहेको खेतीयोग्य जग्गा विद्यालयलाई प्राप्त हुनु ठूलो कुरा भएकाले विद्यालयको नाममा रजिष्टे्रशन पास लगायतका प्रक्रियामा आवश्यक सहयोग गर्ने बताए ।

गाउँपालिका शिक्षा अधिकृत अशोक रिजालले हालसम्म विद्यालयले प्रयोग गदैं आइरहेको भवन अर्के विद्यालयको नाममा रहेको अवस्थामा प्राप्त जग्गाले सहज भएको बताए।कार्यक्रममा वडा अध्यक्ष नरबहादुर पुनले विद्यालयको शैक्षिक,भौतिक पूर्वाधारका लागि जग्गादाता परिवारबाट यसअगाडी समेत लाखौं सहयोग प्राप्त भएको बताए। कार्यक्रममा जग्गादाताको तर्फबाट विष्णुकुमारी पुनले गाउँबाट छोराछोरीलाई घरआगनमै गुणस्तरीय शिक्षा मिलोस्, बाहिर पढ्न जानु नपरोस् भनेर जग्गा उपलब्ध गराएको बताईन् ।