गलेश्वरमा ३ लाख ३५ हजार रुपैयाँ भेटि संकलन

  • १८ मंसिर २०७८, शनिबार
  • 1125 पटक पढिएको

 

 

बेनी १८ मंसिर । बेनी नगरपालीका- ९ मा रहेको गलेश्वर मन्दिरमा ३ लाख ३५ हजार ५९४ रुपैया भेटी संकलन भएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषकाले बालाचतुर्दशी पर्वको अवसरमा सो भेटी संकलन भएको सदस्य सचिव माधवप्रसाद रेग्मीले जानकारी दिए ।

म्याग्दीको प्रसिद्ध गलेश्वर शिवालय परिसरमा शुक्रबार बालाचतुर्दशीका दिन शतबीज छर्ने र दीपदान गर्ने २० हजार भन्दा बढी भक्तजनहरु मन्दिरमा उपस्थित रहेको सदस्य सचिव रेग्मीले बताए । मुक्तिनाथ प्रवेशद्वारका रूपमा रहेको गलेश्वरधाममा शतबीज छर्नका लागि म्याग्दीको विभिन्न गाउँका साथै पर्वत, बागलुङ, मुस्ताङ, कास्की, चितवन, नवलपरासीलगायतका स्थानबाट भक्तजन मन्दिरमा आएको गलेश्वर क्षेत्र विकास कोषले जनाएको छ ।

बालाचतुर्दशी पर्वलाई शतबीज रोपण पर्वका रूपमा लिँदै विशेषगरी पितृ उद्धारका लागि उनीहरूको सम्झनामा शतबीज छर्ने चलन छ । कालीगण्डकी नदीमा स्नान गरी धान, जाँै, तिल, गहुँ, चना, मकै, कागुनोलगायत सातथरिका बीउ भक्तजनले छर्ने गर्छन ।

कालीगण्डकी नदीको किनारमा चट्टानमाथी अवस्थित गलेश्वरको पुजाआजा र दर्शन गरेमा मनोकाक्षा पुरा हुने जनविश्वास रहेको छ ।