म्याग्दीका तीन पालिकामा मतदाता नामावली संकलन शुरु

  • १८ मंसिर २०७८, शनिबार
  • 611 पटक पढिएको

बेनी, १७ मंसिर । म्याग्दीका तीन वटा स्थानीय तहको केन्द्रमा शुक्रबारदेखि मतदाता नामावली संकलन शुरु भएको छ ।अन्नपूर्णको पोखरेबगर, धवलागिरीको मुना र मालिकाको दरबाङमा “मतदाता नामावली संकलन बिशेष कार्यक्रम” अन्तरगत तस्बिर सहितको मतदाता नामावली शुरु भएको हो ।

जिल्ला निर्बाचन अधिकारी भिमप्रसाद घिमिरेले निर्बाचन आयोगको देशब्यापी कार्यक्रम अन्तरगत पहिलो चरणमा म्याग्दीका तीन वटा पालिकामा मतदाता नामावली संकलन शुरु भएको जानकारी दिनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरबेगरमा ८३ वर्षीय पदम गिरीको तस्बिर सहितको मतदाता नामावली दर्ता गरेर अभियान शुरु गरिएको थियो । गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन, उपाध्यक्ष केशमाया मगर र प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा पौडेलको उपस्थिपितमा नामावली दर्ता शुरु गरिएको थियो ।

पहिलो दिन चार जना महिला र एक जना पुरुषको नाम दर्ता भएको गाउँपालिकाको शिक्षा अधिकृत गणेशबहादुर कटुवालले बताउनुभयो । अन्नपूर्णमा कटुवालको नेतृत्वमा नामावली दर्ता टोली परिचालन भएको छ ।

छुटेका र नाम दर्ता गर्न योग्यता पुगेकाहरुलाई लक्षित गरेर पालिकाको केन्द्रमा दश दश दिनका दरले नामावली दर्ता कार्यक्रम शुरु भएको हो । मंसिर २७ गतेसम्म धवलागिरी, मालिका र अन्नपूर्ण गाउँपालिका र मङसिर ३० गतेदेखि दश दिनसम्म मंगला र रघुगंगा गाउँपालिकामा अभियान सञ्चालन हुनेछ् ।

एक जना प्रमुख नाम दर्ता अधिकारी, ५ जना दर्तास्थल ब्यवस्थापक, ३ जना दर्ता कर्मचारी, ५ जना सहायक कर्मचारी र ५ जना दर्तास्थल सहयोगी गरि १९ जनाको ३ वटा टोली बनाइएको छ । म्याग्दीमा हाल ८० हजार १५४ जना मतदाताको नामावली दर्ता भएको छ । बेनी स्थित जिल्ला प्रशासन र निर्बाचन कार्यालयमा पनि मतदाता नामावली दर्ता हुने गरेको छ ।