पिप्ले–भगवती सडक कालोपत्रे योजनालाई गति दिन चौतर्फि दबाब

  • १६ मंसिर २०७८, बिहीबार
  • कमल खत्री
  • 1033 पटक पढिएको

 

बेनी, १६ मङ्सिर । म्याग्दीको रघुगंगा गाउँपालिकाको गलेश्वर राहुघाट देखि पिप्ले–भगवती कालोपत्रे सडक अन्तर्गत पिप्ले भगवती खण्डको कालोपत्रे काम सक्न चौतर्फि दबाब दिइएको छ । निर्माण कार्यमा जनशक्ति थप गर्न सरोकारवालाहरुले दबाब दिएका छन् । विहिवार गण्डकी प्रदेश सभा सदस्य विनोद केसी, जिल्ला समन्वय समितिका प्रमुुख देवेन्द्र बहादुर केसी, वडा नम्बर २ का अध्यक्ष रिम कटुवाल, नेकपा माओवादी केन्द्रका रघुगंगा गाउँपालिका कमिटीका अध्यक्ष हरि भण्डारी , पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्याल लगायतको टोलीले स्थलगत अनुगमन गरि निर्माण कम्पनीलाई आबश्यक निर्देशन दिनुभएको छ ।

टोलीले निर्माण कार्यमा प्रयोग हुने बालुवा, सिमेन्ट लगायतका निर्माण सामाग्रीमा गुणस्तरमा ध्यान दिन निर्माण कम्पनीको ध्यानकर्षण समेत गराएको वडा अध्यक्ष कटुवालले जानकारी दिनुभयो । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’ कार्यक्रम अन्तरगत पूर्वाधार विकास कार्यालयले सञ्चालन गरेको योजनामा निर्माण कम्पनी एपेक्स–खड्का कृष्ण जे.भीले गत जेठमै योजनालाई सम्पन्न गर्नुपर्ने भएपनि अहिलेसम्म जम्मा ५० प्रतिशत भौतिक प्रगति भएको छ । गलेश्वरदेखि बगैँचासम्मको पहिलेको ट्याकमा पहिरोले क्षति पु¥याएकाले पहिलो चरणमा पिप्लेदेखि भगवतीसम्मको ५ किलोमिटर सडकलाई कालोपत्रे गर्न कार्यालयले निर्माण कम्पनिलाई ताकेता गरेको छ ।


दुई साताअघि जिल्ला प्रशासन कार्यालयमा बैठक राखेर निर्माण कम्पनीहरुलाई अधुरा रहेका योजनालाई गति प्रदान गर्न निर्देशन दिएको अवस्थामा अहिले निर्माण कम्पनी कार्यक्षेत्रमा फर्किएर काम सुरु गरेको तर आबश्यक मात्रामा जनशक्ति परिचालन नगरेको कारण स्थलगत निरिक्षण गरिएको गण्डकी प्रदेश सभा सदस्य केसीले बताउनुभयो । ‘‘ निर्माण कम्पनी कार्यक्षेत्रमा फर्किएको छ, तर कामलाई गति प्रदान गर्न अझै सकेको छैन, हिउँदयाममा समेत ढिलासुस्ती हुँदा थप भएको समयमा समेत योजना सम्पन्न नहुने जोखिम रहेकाले सम्बद्ध निर्माण कम्पनि र कार्यालयलाई समेत त्यसतर्फ ध्यानकर्षण गराएका छौँ’’–उहाँले भन्नुभयो ।
पिप्लेदेखि भगवती सम्मको सडक फराकिलो बनाउने, र पर्खाल लगाउने काम अधिकाँश सकेर नाली निर्माणको काम भैरहेको छ ।

पटक – पटकको ताकेतापछि कार्यक्षेत्रमा आएको निर्माण कम्पनीले आगामी चैतभित्र पिप्लेदेखि भगवतीसम्मको सडकलाई कालोपत्रे सम्पन्न गर्नुपर्ने कार्यालयका प्रमुख सन्तोष अर्यालले जानकारी दिनुभयो । ‘‘ असारदेखि काम रोकिएको थियो, दुई सातादेखि निर्माण कम्पनी कार्यक्षेत्रमा फर्किएको छ, अहिले नालि बनाउने काम गरिरहेको छ, सबबेस र बेस राख्नको लागि नमुना परिक्षणको लागि लगेका छौँ’’–उहाँले भन्नुभयो । नाली निर्माणको काम एक महिनाभित्र सम्पन्न गर्ने र बेस र सबबेसको काम सकेर तापक्रम अनुकुल हुनेवित्तिकै कालोपत्रेको काम सुरु गर्ने तयारी गरिएको निर्माण कम्पनीका इन्जीनियर रामु कँडेलले जानकारी दिनुभयो ।

 

उहाँले कार्यक्षेत्रमा ६० जनासम्म जनशक्ति परिचालन गरिएको र कालोपत्रेका लागि आबश्यक पर्ने उपकरणहरु समेत कार्यक्षेत्रमा ल्याइसकिएको बताउनुभयो । भ्याट सहित १८ करोड ४१ लाख ८३८ रुपैयाँमा ठेक्का सम्झौता भएको यस योजनामा ८ किलोमिटर सडकलाई ८ मिटर फराकिलो बनाउने र ५.५ मिटर कालोपत्रे गर्नुपर्ने उल्लेख छ । दशकअघि ट्याक खुलेको यो सडक बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुँदा आवत जावतका लागि स्थानीयबासीलाई सास्ती हुँदै आएको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l