घुस लिएको आरोपमा मालपोत कार्यालय चितवनका प्रमुख र अमिन नियन्त्रणमा

  • १५ मंसिर २०७८, बुधबार
  • 764 पटक पढिएको

चितवन, १५ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंले घुस लिएको आरोपमा मालपोत कार्यालय चितवनका प्रमुख मुकुन्द पौडेल र अमिन बिरेन्द्र बहादुर कठायतलाई नियन्त्रणमा लिएको छ ।

अख्तियारका सूचना अधिकारी वेदप्रसाद भण्डारीले नगद, १५ लाखको चेक सहित कार्यालय प्रमुख पौडेललाई कार्यालयबाट र अमिनलाई भरतपुरको लंकुबाट नियन्त्रणमा लिइएको हो ।

सेवाग्राहीसँग मोटो रकम घुस मागेको भन्ने जाहेरीका आधारमा अख्तियारको इन्टेलिजन्स टिमले बुधबार मारेको भण्डारीले बताउनुभयो । कार्यालय प्रमुख पौडेललाई ३ लाख १४ हजार ५ सय नगद र १० र ५ लाखका चेक सहित पक्राउ गरिएको हो ।

बरामद नगद मध्ये ५० हजार सेवाग्राहीले बुझाएको र २ लाख ६४ हजार पाँच सय पौडेलको साथमा रहेको अवस्थामा बरामद गरिएको भण्डारीले जानकारी दिनुभयो । बरामद चेक उनकै नाममा काटीएकोे छ ।

सेवाग्राहीको कित्ताकाट गरीदिने आश्वासनमा कार्यालय प्रमुख पौडेलले घुस मागेका थिए । सोही कार्यमा सघाएको आरोपमा अमिन बिरेन्द्र बहादुर कठायत समेत पक्राउ परेका छन् ।

कठायतको साथबाट १ लाख ५० हजार नगद र तीन लाख ५० हजारको चेक अख्तियारले बरामद गरेको हो । उनीहरु दुवैजनालाई थप अनुसन्धानका लागि काठमाडौ स्थित अख्तियारको कार्यालय पठाईएको छ ।