कांग्रेसको केन्द्रिय सदस्यमा बानियाँ र प्रदेश समितिको उपसभापतिमा महतको उम्मेद्वारी घोषणा

  • १५ मंसिर २०७८, बुधबार
  • 852 पटक पढिएको

म्याग्दी, १५ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत म्याग्दीका दुई नेताले केन्द्रीय सदस्य र गण्डकी प्रदेश कार्य समितिको उप-सभापति पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । म्याग्दीका निर्वतमान जिल्ला सभापति रेशमबहादुर बानियाँले पार्टीको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा र पुर्व सह-सभापति नेत्र महतले गण्डकी प्रदेशको उप-सभापतिमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।


नेपाली कांग्रेस म्याग्दीको पाटी कार्यालयमा बुधवार आयोजित पत्रकार सम्मेलनमा नेताद्धयलाई काँग्रेस म्याग्दीको तर्फबाट साझा उम्मेदवारको रुपमा घोषणा गरिएको थियो । जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएका नेताद्धय बानियाँ र महतले म्याग्दीबाट प्रदेश र केन्द्रीय समितिमा प्रतिनिधित्वका लागि आफुहरुले उम्मेदवारी दिन लागेको बताउनुभएको थियो ।


काँग्रेस म्याग्दीको स्थापनादेखि नै विभिन्न भूमिकामा रहेर जिल्लामा काँग्रेसलाई बलियो बनाउने कार्यमा क्रियाशिल रहेको र पार्टीको हरेक आन्दोलनमा सक्रियताका साथ लागेकाले यस पटक केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको बानियाँले बताउनुभयो । उहाँले पार्टीका शिर्ष नेताहरुसंग समेत आफुले केन्द्रीय सदस्यमा उम्मेदवारी दिनेबारे आबश्यक सल्लाह र मरामर्श समेत गरेको बताउनुभयो ।


२०४६ सालको जनआन्दोलनबाट सक्रिय राजनीति सुरु गर्नुभएका बानियाँले २०४७ सालमा गठन भएको कांग्रेस जिल्ला तर्दथ समितिको सहसचिव, नेविसंघ जिल्ला सभापति, केन्द्रिय सदस्य हुदै २५ बर्षको उमेरमा सदरमुकाम बेनीबजार रहेको तत्कालिन अर्थुङ्गे गाविसको अध्यक्षमा समेत निर्वाचित हुनुभएको थियो । पार्टीमा दुई कार्यकाल सचिब, दुई कार्यकाल उपसभापति हुदै एक कार्यकाल पार्टीको जिल्ला सभापतिको नेतृत्व समेत गरिसक्नुभएका बानियाँ बि.स २०६४ मा सम्पन्न भएको पहिलो संविधान सभाको निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवार बन्नुभएको थियो । दोस्रो जनआन्दोलनको क्रममा प्रहरी हिरासतमा समेत बस्नुभएका बानियाँ २०७० सालमा संविधान सभा सदस्यमा मनोनित हुनुभएको थियो ।

 

त्यसैगरि मंसिर १७ र १८ गते पोखरामा हुने अधिवेशनमा गण्डकी प्रदेश कार्य समितिको हुने उपसभापति पदमा जिल्लामा कांग्रेसका अग्रज नेता महतले उम्मेदवारी दिनुहुने भएको छ । काँग्रेसमा नयाँ जागरण ल्याउन र पार्टीलाई थप बलियो बनाउने उदेश्यका साथ आफुले उपसभापति पदमा उम्मेदवारी दिन लागेको महतले बताउनुभयो । करिब दुई दशक देखि राजनीतिमा निरन्तर क्रियाशिल महत नेपाली काँग्रेस म्यागदीमा निष्ठा र इमान्दार नेताको रुपमा चिनिनुहुन्छ । पूर्व जिल्ला सह-सभापति रहनुभएका महतले म्याग्दीबाट काँग्रेसको सहमति र एकताको सन्देशका लागि समेत आफ्नो उम्मेदवारीले भूमिका खेल्ने बताउनुभयो । केन्द्रिय सदस्यका उम्मेदवार बानियाँ संस्थापन इतर र गण्डकी प्रदेश समितिको उपसभापतिमा उम्मेदवार बन्न लाग्नुभएका महत संस्थापन पक्ष निकट मानिनुुहुन्छ । पत्रकार सम्मेलनमा जिल्ला सभापति खमवीर गर्वुजाले दुवै उम्मेदवारलाई जिल्लाबाट साझा उम्मेदवारको रुपमा प्रस्तुत गरिएकाले बिजयी गराउन जिल्ला नेतृत्वले आबश्यक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभएको थियो भने पत्रकार सम्मेलनको सञ्चालन जिल्ला सचिब हिरा पुनले गर्नुभएको थियो ।