एमाले अध्यक्षमा केपी शर्मा ओली निर्वाचित
- १४ मंसिर २०७८, मंगलवार
- 746 पटक पढिएको
चितवन १४ मंसिर । नेकपा एमालेको अध्यक्षमा पुनः केपी शर्मा ओली विजयी भएका छन् । चितवनमा आयोजित १० औं राष्ट्रिय महाधिवेशनबाट ओली पुनः चार वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।
ओलीले १८०८ मत पाएर अध्यक्ष चुनिंदा अर्का प्रत्यासी भीम रावलले २२३ मत पाएका निर्वाचन समितिका सदस्य बाबुराम दाहालले जानकारी दिए । सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि मंगलबार बिहान निर्वाचन भएको थियो । एमालेका २ हजार १ सय ५३ प्रतिनिधिहरुमध्ये २ हजार ९६ मत खसेको थियो । खसेको मत मध्ये करिब ७५ भोट नो भोटमा परेको अनुमान गरिएको छ ।
नवौं महाधिवेशनमा निर्वाचित भएदेखि एमालेको नेतृत्व ओलीले सम्हाल्दै आएका छन् । नवौं महाधिवेशनबाट रावल उपाध्यक्ष बनेका थिए । १० औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिएपछि रावलले अध्यक्ष नबने केन्द्रीय सदस्यमा पनि नरहने घोषणा गरेका छन ।