भीम रावलले अध्यक्ष, घनश्याम भूसालले उपाध्यक्षमा र भीम आचार्यले सचिवमा दिए उम्मेदवारी

  • १३ मंसिर २०७८, सोमबार
  • 485 पटक पढिएको

चितवलन १३ मंसिर । चितवनमा जारी नेकपा एमालेको जारी १० औं राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनमा अधिकार लिएका केपी शर्मा ओलीले प्रस्ताब गरेको पदाधिकारीमा विद्रोही उम्मेदारी दर्ता भएको छ । यसैक्रममा अध्यक्ष पदमा भीम रावलको उम्मेदवारी पनि दर्ता भएको छ ।

घनश्याम भूसालले उपाध्यक्षमा र भीम आचार्यले सचिव पदमा उम्मेदवारी दर्ता गराएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आइतबार राति बन्दसत्रमा प्रस्तुत गरेको पदाधिकारी र केन्द्रीय समिति सदस्यहरुको नामावलीमा असन्तुष्ट भएकाहरुले उम्मेदवारी दर्ता गर्ने क्रम जारी छ ।

ओलीले अध्यक्षमण्डलको तर्फबाट सहमतिका लागि भन्दै १९ सदस्यीय पदाधिकारी प्रस्ताव गरेका थिए । नवौं महाधिवेशनबाट उपाध्यक्षमा विजयी रावल, उपमहासचिव भूसाल र सचिव आचार्यको नाम पदाधिकारीको टिममा परेको थिएन । आफूलाई अध्यक्षका रुपमा प्रस्तुत गरेका ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेललाई प्रस्ताव गरेका थिए ।

यसैगरी उपाध्यक्षहरुमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङ प्रस्तावित छन् । महासचिवमा शंकर पोखरेललाई र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाललाई ओलीले प्रस्ताव गरेका छन् ।
सात सचिवमा टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्यालको नाम प्रस्तुत भएको थियो ।