अन्नपूर्ण आधार शिविर : मौरिस हर्जोग ट्रेल’मा पूर्वाधार निर्माण (फोटो फिचर)

  • १२ मंसिर २०७८, आईतवार
  • कमल खत्री
  • 1084 पटक पढिएको

कमल खत्री
बेनी १२ मङ्सिर । म्याग्दी स्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने ‘मौरिस हर्जोग ट्रेल’मा पूर्वाधार निर्माण गरिएको छ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङबाट दुई दिनमै आधार शिविर पुग्न सकिने गरि पदमार्ग, आश्रयस्थल, विश्राम गर्ने चौतारा लगायतका पूर्वाधार निर्माण गरिएको हो । पर्यटन मन्त्रालयबाट विनियोजन भएको रु करिब २ करोड ८० लाख बजेटबाट गत बर्षदेखि निर्माण सुरु भएको पूर्वाधार निर्माण योजना अन्तिम चरणमा पुगेको छ ।

नारच्याङको दोभान–छोटेपा हुँदै हुमखोला सम्म सडक सञ्जाल पुगेपछि हुमखोलादेखि आधार शिविर सम्म पदमार्ग लगायतका पूर्वाधार निर्माण गरिएको छ ।
हालसम्म ढुंगा चिनेर ६ हजार ५ सय वटा सिँढी बनाइएको छ भने करिब १४ किलोमिटर पदमार्ग निर्माण भएको पाईएको पदमार्ग निर्माण समितिका स्थानीय संयोजक तेज गुरुङले जानकारी दिनुभयो । अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष समेत रहेका गुरुङका अनुसार, २०६८ सालमा पहिचान भएको पदमार्गमा आधारभुत पूर्वाधार निर्माण कार्यले पूर्णता पाउन लागेको छ ।


निलगिरीखोला हाइड्रोपावर प्रालि प्रवद्र्धक रहेको ३८ मेगावाट क्षमताको निलगिरिखोला जलविद्युत् आयोजनाले अक्करे पहाडमा विस्फोटक पदार्थको प्रयोग गरेर बनाएको दोभानबाट हुमखोला जोड्ने १३ किलोमिटर पहुँचमार्ग निर्माण गरेको छ । यो सडकले दुई दिनको यात्रा दुई घण्टामा छोटिएपछि आधार शिविर पुग्न लाग्ने अवधि छोटिएको गुरुङले जानकारी दिनुभयो । पदमार्ग अन्तर्गत छोटेपा, हुमखोला, फुतफुते झरना, सन्धीखर्क, भुसकेत, धर्मशालामा गरि ६ ठाउँका खोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ भने ६ स्थानमा आश्रयस्थल निर्माण भैरहेको छ । निलगिरि हिमालको फेदी हुमखोलाबाट करिब १४ किलोमिटर लामो पदमार्गमा ढुंगाको सिढी चिनिएको छ भने अक्करे पहाड र भिरमा रेलिङ समेत राखिएको छ ।


पर्यटन विभागबाट खानी एण्ड एनवी जेभि निर्माण कम्पनीले ठेक्का मार्फत पदमार्गमा पूर्वाधार बनाउने जिम्मा लिएको थियो । अहिलेसम्म करिब ७० प्रतिशत पूर्वाधार निर्माणको काम सकिएको र दुई महिनाभित्र सबै काम सम्पन्न गर्ने योजना रहेको निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर होमराज गौतमले जानकारी दिनुभयो । ‘‘ अनकन्टार जंगल, पहाड र भिरमा पदमार्ग लगायतका पूर्वाधार बनाउने काम भैरहेको छ, जंगलमै बास बसेर करिब ५० जनाले दैनिक रुपमा पूर्वाधार बनाउने काम गरिरहेका छन्, अब छिटैनै हामीले जिम्मा लिएको काम सक्छौँ’’–उहाँले भन्नुभयो । पदमार्ग अन्तर्गत ५ ठाउँमा काठको साँघु, १० ठाउँमा चौतारा लगायतका पूर्वाधार समेत निर्माण भैरहेको छ । यस पदमार्गमा यस अघि पर्यटन विभागसंगै प्रदेश सरकार, गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का समेत लगानीमा पदमार्ग, झोलुङ्गेपुल, फड्के पुल, सिँढी लगायतका पूर्वाधार निर्माण गरिएको थियो ।
                                    एकै दिन आधार शिविरमा
अन्नपूर्ण प्रथम आधार शिविर जाने पदमार्ग छोटिएसंगै अब आधार शिविरमा एकै दिन पुग्न सकिने भएको छ । पहिले पहिचान गर्दा ७ दिनको यात्रा तय हुने गरेकोमा अहिले नेपाली आन्तरिक पर्यटकहरु नारच्याङबाट हुमखोलासम्म सवारी साधन र त्यहाँबाट करिब १५ किलोमिटर पदयात्रा मार्फत एकैदिन आधार शिविर पुग्न थालेका हुन् । सडक, पदमार्ग लगायतका पर्यटन पूर्वाधारले अब अन्नपूर्ण आधार शिविरमा दुई दिनकै अवधिमा पुगेर फर्कन सक्ने सुविधा भएको अन्नपूर्ण युवा क्लब नारच्याङका अध्यक्ष श्याम पुर्जाले जानकारी दिनुभयो ।

सडक यातायातको सुविधासँगै नारच्याङबाट अब बढीमा दुई दिनमा अन्नपूर्ण आधार शिविर पुग्न सकिने भएको छ । अन्नपूर्ण हिमालको आधार शिविर पुग्न सकिने गरि विकास गरिएको यो पदमार्ग छोटो दूरीको पैदलयात्रामा पुग्न सकिने सम्भवतः नेपालको पहिलो आधार शिविर भएको बताइएको छ । यात्राअवधि छोटिएपछि अन्नपूर्ण आधार शिविरमा स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल बढ्ने अपेक्षा गरिएको छ ।
                                    ‘मौरिस हर्जोग ट्रेल’लाई व्यापक प्रचार गरिने
अन्नपूर्ण गाउँपालिका–४ नारच्याङदेखि अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविर जोड्ने ‘मौरिस हर्जोग टे«ल’ लाई व्यापक प्रचार प्रसार र विकास गरिने भएको छ । नेपाल भ्रमण वर्ष २०२० का अवसरमा गाउपालिकाले पदमार्ग सञ्चालन गरेको थियोे । आठ हजार मिटरभन्दा अग्ला हिमालको पहिलोपटक आरोहण गरेका फ्रान्सका मौरिस हर्जोगका नाममा तयार भएको यो पदमार्ग आधार शिविर पुग्ने छोटो र सुरक्षित पदमार्ग भएकाले यसको व्यापक प्रचार प्रसार र पूर्वाधार निर्माणमा पहल गरिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले बताउनुभयो ।

पदमार्ग तयार भएको, अन्नपूर्ण आधार शिविर म्याग्दीमा पर्ने सन्देश प्रवाह गराउन पदमार्गको प्रवेशविन्दु नारच्याङमा दुई बर्ष अघि प्रथम अन्नपूर्ण पर्यटन महोत्सव समेत गरिएको बताउँदै अध्यक्ष पुनले यो पदमार्गलाई गाउँपालिकाको पर्यटन विकासको नयाँ आयामको रुपमा विकास गर्न लागिपरेको बताउनुभयो । हर्जोगले १९५० जुन ३ मा अन्नपूर्ण प्रथम हिमालको आरोहण गर्दै आठ हजारभन्दा अग्ला हिमालमा पहिलो पाइला टेक्ने दुर्लभ रेकर्ड बनाउनुभएको थियो । अन्नपूर्ण प्रथम आरोहण भएको तीन वर्षपछि सगरमाथामा मानव पाइला परेकाले यसलाई जेठो हिमाल पनि भनिन्छ । आधार शिविरको भ्रमण, हिमाल आरोहण संगै झरना, ताल, वन्यजन्तु, वनस्पतिको सौन्दर्यमा रमाउन पाउनु यस पदमार्गका आकर्षण हुन् । अघिल्लो बर्ष यसै पदमार्ग हुँदै आधार शिविर पुगेर ७० जनाले हिमालको आरोहण गरेका थिए । अहिले गत असार यता मात्रै करिब ७ सय बढी आन्तरिक पर्यटकहरु आधार शिविर पुगेको अनुमान गरिएको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l